Logo

हाम्रो आर्थिक पृष्ठभूमी र चुनावी मौसम



चिन्तन पौडेल : ३५ वर्ष पहिले पंचायती ब्यबस्था छंदा म सानै थिएं। तर, पनि केही आर्थिक गतिविधि बारे बुझ्ने र जान्ने हुन थालिसकेको थिएं । पढ्नको लागि ८ घन्टा पैदल बाटो हिंडेर दमौली बजारमा डेरामा बस्नुपर्ने अवस्था थियो। घरमा आमा र दिदिबहिनी मात्रै हुनुहुन्थ्यो । ठुली दिदी शर्मिला र म दमौलीमा डेरा गरेर बस्ने र अध्ययन गर्ने गर्थ्यौ। हाम्रो आर्थिक श्रोत भनेकै खेती, किसानीबाट भएको आम्दानी थियो । हाम्रो २०- २५ रोपनी जग्गामा फैलिएको फलफूलको बगैंचा थियो ।

खच्चड वा ट्याक्टरको सहाराले सुन्तला, निबुवा र कागती बिक्री गरिन्थ्यो । त्यो समयमा पनि वार्षिक ४० / ५० हजार सम्म आम्दानि हुन्थ्यो। त्यति बेला १०/१५ हजार रुपैया आनामा दमौली अमरापुरीमा जग्गा पाइने जमाना थियो । र, ५० हजार देखि १ लाख रुपैयामा घर बन्न पुग्ने अवस्था पनि थियो । त्यो समय मैले २ रुपैयाँमा जेरी पुरी र तरकारी खाने गर्थे । र २ रुपैयाँ तिरेर आधा घण्टा साइकल चढ्ने मौका पनि पाएकै हो। सिक्ने जो तिब्र ईक्षा थियो ! घुडा धसेरपनि साइकल सिकियो ।

पन्चायत कालमै कागती, सुन्तला, निबुवा, आदि फलफूल काठमाडौ सम्म पुर्याएर बजारमा बेचेको पैसाले दमौलीमा घर बन्यो । त्यसपछि म , मेरा दिदिहरु (शर्मिला र संज्ञा ) र बहिनीहरु (अनुज्ञा र अबज्ञा ) दमौलीमा बसेर पढ्न अल्लि सहजभयो।

उमेर बढ्दैगयो, गांउमा जन्मेर, पढेर हुर्केको मलाई शहरमा पढ्ने मौका मिल्यो । मेरो पढाई राम्रो थियो त्यसैले ईन्जिनीयर र एम. बि. ए. सम्म ( First Class Degree ) हासिल गर्न सफल भैयो।

अध्ययन र कामकै शिलशिलामा बेलायत आई पुगें । १६/१७ वर्ष पहिले नै बेलायत आइपुगेको रहेछु । बेलायतमा अहिले २ लाख भन्दा बढि नेपाली दाजुभाइ बस्छन् । पन्चायतकालमा मुश्किलले २/३ हजार थिए । पन्चायत पछिको यो ३० वर्षमा नेपाली दाजुभाइको जन घनत्व निकै बढेको छ। यो आर्थिक र सामाजिक विकासकै उपज हो । २ लाख नेपाली दाजुभाइ मध्ये कम्तीमा पनि २० हजारको आफ्नै स्वामित्वमा बस्ने घर छ । यहाँ नेपालमा जस्तो घर स्वामित्व हाशिल गर्न असहज छैन । ठिक्कको आम्दानी र जागिर हुनेले १०/१५ लाख जतिको धरौटीमा १ देखि डेढ करोड सम्मको घर कर्जा लिन मिल्छ । घरको मुल्य पनि डेढ करोड सम्म । अल्लि अघि त विना धितोनै घर कर्जा सहित घरको स्वामित्व पाइन्थ्यो । किनभने बैंकले कर्जाबाट आम्दानी जो गर्नु थियो । २५ देखि ३० वर्ष सम्म किस्ता ( mortgage ) तिर्ने सहमति सहित बैंकको स्वामित्वको घर भोगचलन गर्ने हो । म र मेरी श्रीमती दुबैको राम्रै जागिर भएकाले हामिलाईपनि एउटा घरको स्वामित्व प्राप्त गर्न त्यति गार्हो भएन । त्यसको कर्जा तिर्न हामी तयार र सक्षम छौं ।

पन्चायत पछि काठमाडौंमा पनि मान्छे धेरै बसाइँ सराइ गर्न थाले । २०२० साल भन्दा अघिको कुरा हो। काठमाडौं ठमेल तिर १५०० सय रुपैयाँमा १ रेपनी जग्गा र घर उपलब्ध रहेछ । हाम्रा हजुरबुबासंग त्यो समय त्यत्ति पैसा पनि थियो। काठमाडौंमा किनौँ पछि फाइदा हुन्छ भन्ने सुझाव दिदा हजुरबुबाले त्यहाँ के गर्ने काम ? गरेर खान जमीन चाहिन्छ ! चितवनमा २० बिघा जग्गा आउँछ – त्यतै जाने हो । खेतीबाट भएको आम्दानीले पालिने हो भनेर चितवन माधवपुर जानू भो । बहुदल पछि काठमाडौंको पनि घर जग्गाको भाउ निकै बढ्नथाल्यो। रिङरोड बाहिर रोपनीको लाख सम्म जग्गा पाइने – र बाटो पुगेको ठाउँमा अल्लि महँगो ।

अहिले २ रुपैयाँमा जेरि पुरी तरकारी पनि आउन्न होला ! ५० – ६० हजारमा दमौलीमा घरपनि बन्न सक्ने अवस्था छैन होला । तर, गाउँ गाउँमा मोटर बाटो पुगेर खच्चडको विस्थापन भएको पाएको छु। गांउलेहरुले आफ्नो उम्जनी – अदुवा , मकै , फलफूल, आदि गाउंमै बेच्न सक्ने स्थिती आएको छ। म जस्तो रिस्ती खोलाबाट ८ घन्टा हिंडेर कुनै ५/६ वर्षको बालक शिक्षाकोलागि दमौली बजारसम्म धाउन पर्ने बाध्यता अब रहेन ।

मुलुकमा आएको यो एक सकारात्मक परिवर्तन हो र यसको भागेदार म मात्रै छैन होला भन्ने लाग्छ। चुनावको समयमा भए नभएका कुरा जोडेर अफवाह फैलाउने गर्छन्। अनेकन क्रिया प्रतिक्रिया आउंछन्, कसैले बुझेर त कसैले बुझ पचाएर अनावस्करुपमा उछाल्छन् पनि । तर, वास्तविकता फरक हुन्छ, सत्य संधै अडिग हुन्छ। हाम्रो सामान्य मध्यम बर्गिय परिवारको पृष्ठभूमि पनि अति नै सरल छ, छर्लंग छ।

फेरि चुनाब आउंदैछ, प्रायोजित प्रोपेगाण्डाको पछि नलाग्नुहोला। एकचोटि छातीमा हात राखेर आफ्नो विवेक प्रयोग गर्नुहोला, मुलुकमा प्रजातन्त्र पुनर्स्थापना र समाज रुपान्तरणका निम्ति गरेको त्याग, संघर्ष र योगदानको उचित मुल्यांकन गर्नु होला ।सादर जय नेपाल !!

( फोटो – पन्चायत काल – वि. स .२०४५ ताका दमौलीमा – दिदी शर्मिला , बहिनी अनु र म)



प्रतिक्रिया दिनुहोस्