Logo

धनुषामा प्रतिनिधिसभाका लागि महासेठ दम्पत्तिसहित १० पूर्वमन्त्री प्रतिस्पर्धामा



जनकपुर, २३ असोज । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धनुषाको चारवटै निर्वाचन क्षेत्रमा ‘हेभीवेट’ नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् । धनुषामा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउने नेताहरूमा १० जना पूर्वमन्त्री नै रहेका छन् ।

धनुषा–१ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै धनुषा–२ मा तीन पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रबाट एमालेका उमाशङ्कर अरगरिया, पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु तीनै जना पूर्वमन्त्री हुन् ।

धनुषा निर्वाचन क्षेत्र नं ३ मा एमाले नेतृ जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराएकी छिन् । सत्तारूढ गठबन्धनबाट लोसपाका नेता अनिलकुमार झाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुवै पूर्वमन्त्री हुन् ।

त्यसैगरी धनुषा–४ मा एमालेका सचिव रघुवीर महासेठ र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं पूर्वमन्त्री यादव र एमालेबाट पूर्वमन्त्री महासेठले धनुषा–४ मा उम्मेदवारी दर्ता गराएका छन् । महासेठ पूर्व उपप्रधानमन्त्री हुन् । यादव पनि पूर्वमन्त्री हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot