Logo

मेरो उम्मेदवारीमा सबैको समर्थन छ, जनताले काम गर्ने मान्छे चिनेका छन्ः उमेश श्रेष्ठ



काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नेता एवं मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो उम्मेदवारीमा कसैको विरोध वा विद्रोह नभएकाले विजय सुनिश्चित भएको बताएका छन् ।
‘चितवन २ मा म गठबन्धनको साझा उम्मेदवार हुँ । यसमा पार्टीभित्र वा गठबन्धनका कसैको विरोध र विद्रोह छैन । पाँच दलीय गठबन्धन एकढिक्का छ । प्रदेशमा पनि कांग्रेसका अनुभवी र पुराना साथीहरुले पाउनुभएको छ । म सम्पूर्ण साथीहरुलाई समेटेर लैजाने पक्षमा छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले भने ।
जनताले भाषण गर्नेभन्दा काम गर्नेलाई जिताउनुपर्ने पनि नेता श्रेष्ठले औंल्याए । उनले भने, ‘चितवनमा ३२ वर्षदेखि मेरो बसोबास छ । यहाँ मेरा विभिन्न संस्था छन् । चितवन कृषि, पर्यटन र औद्योगिकीकरणको सम्भावना भएको जिल्ला हो । अब भाषण गरेर मात्र जनताले पत्याउने वाला छैन । काम गर्न सक्ने व्यक्तिलाई छान्छन् जनताले । देश बनाउन नसके जनतामा अझै निराशा छाउँछ ।’
अबको मुद्दा रोजगारी र समृद्धि भएको पनि उनले औंल्याए । कृष्णभक्त पोखरेल, रवि लामिछानेसँग कसरी सामना गर्नुहुन्छ भन्ने प्रश्नमा श्रेष्ठले थपे, ‘म लामो समय शिक्षण गरेको व्यक्ति हुँ । म कसैको विरोध गर्ने मान्छे होइन । म सबैप्रति सकारात्मक सोच राख्छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot