Logo

गल्ती गर्नेलाई नै पटकपटक जिताइरहने हो भने नागरिकले गुनासो गर्नुको अर्थ हुन्नः भीमार्जुन आचार्य



काठमाडौं, २४ असोज । संविधानविद् भीमार्जुन आचार्यले सक्षम र योग्य व्यक्तिभन्दा नेता वा गुट नजिकको व्यक्तिले मात्र निर्वाचन लड्न पाउने अवस्थाले लोकतन्त्र र संविधानमाथि जोखिम उत्पन्न हुने औंल्याएका छन् ।
‘निर्वाचनमा उम्मेदवारी दर्ता हुनु प्राविधिक रुपमा मात्र सुखद कुरा हो । तर सक्षम र योग्य व्यक्तिले दलहरुबाट अवसर पाएनन् । गुट र नेतासँग नजिक भएको व्यक्तिले टिकट पाउने हो भने संविधान र लोकतन्त्रको दीर्घायुमा समस्या आउँछ । प्रतिनिधिसभामाको सांसद भन्नु फगत जागिर होइन, यसको विशेष महत्त्व छ । सांसदले आफ्नो क्षेत्रमात्र नभएर सिंगो देशको प्रतिनिधित्व गर्ने हो,’ प्राइम एचडी टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै आचार्यले भने ।
दुई ठूला दलको नेतृत्वमा गठबन्धन बने पनि सोचेअनुसार जनमत पाउने सम्भावना नरहेको उनले बताए । आचार्यले थपे, ‘स्थानीय तहको निर्वाचनले केही ठाउँमा जबर्जस्त सन्देश दिएको छ । टिकट दिँदैमा मतदाताले छान्छन् भन्ने छैन । अहिलेका दलहरु गणितीय रुपमा ठूला होलान् । तर ठूला भनिएका नेताहरु नै पराजित हुने सम्भावना छ ।’
उनले यो निर्वाचनले मुलुकमा केही उथलपुथल हुने आशा व्यक्त गरे । संविधानविद् आचार्यले भने, ‘कार्यकर्ता बढी भएको देशमा लोकतन्त्र बलियो हुन्न । लोकतन्त्र बलियो बनाउन नागरिकहरु नै स्वतन्त्र र सक्षम हुनुपर्छ । गल्ती गर्नेलाई नै पटकपटक जिताइरहने हो भने नागरिकले गुनासो गर्नुको अर्थ हुन्न । एकपटक परीक्षण भइसकेका नेताहरुबारे नागरिकले सोच्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot