Logo

सत्यमोहन जोशीको स्वास्थ्यमा आइतबारभन्दा सुधार



काठमाडौँ,२४ असोज । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा आइतबारभन्दा सुधार भए पनि अवस्था खतरामुक्त नरहेको किस्ट मेडिकल कलेज ललितपुरले जनाएको छ । आइतबार मुटुको चाल बढेपछि उनलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ । जसका कारण आज भने केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । रगत परीक्षणपछि उहाँमा डेङ्गु पुष्टि भई उपचार भइरहेकामा आइतबार बढी समस्या आएर उच्च मात्रामा अक्सिजन दिइएको हो ।

भर्ना भएको सात दिनमा जोशीको स्वास्थ्य सुधार आएको थियो । कमजोरीका कारण उनी अस्पतालमै बसेर उपचार गराइरहेका थिए । १०औँ दिनमा उनले कम खाना खान थालेका थिए । जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन आइतबारदेखि नै दैनिकरुपमा बुलेटिन निकाल्न थालिएको अस्पतालले जनाएको छ । एक सय तीन वर्षीय संस्कृतिविद् जोशीले नेपालको सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्