Logo

जीवनको ‘अन्तिम इच्छा’ पूरा गरेर विदा भए सत्यमोहन जोशी



काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशी आफ्नो जीवनको ‘अन्तिम इच्छा’ पूरा गरेर विदा भएका छन् । चक्रसंवर पौभा निर्माण गर्ने जीवनको ‘अन्तिम इच्छा’ रहेको बताउने जोशीको आज बिहान ७ बजेर ९ मिनेट जाँदा निधन भएको हो ।

१०३ वर्षीय जोशीको उपचारका क्रममा किष्ट अस्पतालमै निधन भएको हो ।

डेंगु संक्रमित भएर विगत २४ दिनदेखि किष्टमा अस्पतालमा भर्ना भएका जोशीको स्वास्थ्यमा बिहीबारदेखि गम्भीर समस्या देखिएको थियो । उनको छातीमा निमोनियाको संक्रमण र पिसाबमा संक्रमण भएपछि सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको थियो । शनिबार मात्र प्रतिमिनेट ४ लिटर अक्सिजको सपोर्टमा जोशीलाई राखिएको थियो ।

जोशीको मुटु, रक्तचाप र श्वासप्रश्वासमा समस्या भएपछि बिहीबारदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो । उनको आज दुःखद निधन भएको हो । आफ्नो इच्छा पूरा गरेर आज जोशी यो धर्तीबाट विदाइ भएका छन् ।

संस्कृतिविद् जोशीले एक वर्ष अगाडि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठलाई भेटेर चक्रसंवर पौभा निर्माण गर्ने आफ्नो जीवनको अन्तिम इच्छा रहेको प्रस्ताव सुनाएका थिए ।

उनको इच्छा बमोजिम मन्त्री श्रेष्ठले आवश्यक पर्ने ४५ लाख रकम बिनियोजन गरेर उनको अन्तिम इच्छा पूरा गरिदिएका छन् । चक्रसंवर पौभा निर्माणको काम अन्तिम चरणमा पुगेसँगै जोशीले प्राण त्यागेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot