Logo

गुल्मीमा गठबन्धनभित्र कुनै समस्या छैनः चन्द्र भण्डारी



काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसका नेता एवं गुल्मी १ मा गठबन्धनका साझा उम्मेदवार चन्द्र भण्डारीले विगतमा आफूले गरेका काम नै जितको आधार भएको बताएका छन् ।
‘२०७० सालमा म संविधानसभाको सदस्यमा निर्वाचित हुँदा लिफ्ट खानेपानीको सुरुवात भयो । ७३ वटा सडक बनाएँ । ४२ वटा पुल बन्यो । रिडीमा तीनमुखे पुल । सिद्धबाबामा धेरै गुल्मीको मृत्यु भएपछि सालझन्डी सडक सुरु गरेका छौं । हामी गुल्मीलाई नमुना जिल्ला बनाउन लागेका छौं । योजनाका हिसाबले हामी निकै अगाडि छौं । मेरो जितको आधार यिनै हुन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भण्डारीले भने । उनले आफू सविंधानसभा सदस्य हुँदा पाएको ६० लाख रुपियाँको लगानीमा खोला किनारका बोटे माझी बस्ती निर्माण गरेको पनि सुनाए ।
जिल्लाका लागि सोचे अनुसार काम गर्न नसकेको पनि भण्डारीले स्वीकार गरे । उनले भने, ‘यहाँका तरकारीले सही बजार पाउन सकेको छैन । सालझन्डी सडक पूरा भएको छैन । खोलामा नभएर गाडी बगाउँछ । म मुलुक र जनताका निम्ति जन्मेको हुँ । लोभ नभएको मानिसले मात्र पछि इमानदारीपूर्वक काम गर्न सक्छ । हामीलाई मुलुक बनाएपछि मात्र आफू बन्ने मानसिकताका मानिस चाहिन्छन् ।’
अघिल्लो निर्वाचनमा वाम गठबन्धनका कारण पराजित हुनुपरे पनि यसपटक जित सुनिश्चित भएको उनले बताए । भण्डारीले भने, ‘गुल्मीमा गठबन्धनभित्र कुनै समस्या छैन । एकआपसमा प्रेम र सद्भाव छ । मैले सांसद भएपछि स्थानीय र राष्ट्रिय समस्यालाई संसद्मा उजागर गर्ने हो । जनस्तरमा बोलेका कुरा पूरा गर्ने हो ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot