Logo

ओलीजीको कुरा सुनुन्जेल मात्र रमाइलो हुन्छः प्रकाशशरण महत



काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जनतासँग डराएर गठबन्धनको वक्तव्य नआएको बताएका छन् ।
‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको हो । जसपा हामीसँग रहेन, लोसपा तालमेलमा आएको छ । जनता भनेका जनार्दन हुन् । उनीहरुबाट हामीले आफ्ना कमीकमजोरी पनि थाहा पाउनुपर्छ । हाम्रा कुरामा पनि जनतालाई निरन्तर अनुरोध र आग्रह गरिरहनुपर्छ । त्यसैले वक्तव्य आएको हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतले भने ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कामभन्दा गफमात्र गरेको आरोप पनि उनले लगाए । महतले थपे, ‘हामी समृद्धिको पहुँचमा हरेक नागरिकलई पुर्याउन चाहन्छौं । केपी ओलीले जस्तो कल्पनाको उडान मात्र गर्दैनौं । खुरुखुरु आफ्नो काम गर्छौं । तर प्रचारमा कमजोर छौं । ओलीजीको कुरा सुनुन्जेल रमाइलो हुन्छ । क्या मजासित भन्यो भन्ने लाग्छ । कुरा गर्न सजिलो हुन्छ, काम गर्न गाह्रो हुन्छ ।’
कांग्रेसको एजेन्डा आर्थिक रुपान्तरण रहेको उनले औंल्याए । उनले भने, ‘२०४८ सालमा सरकार बनाएपछि कांग्रेस आर्थिक वृद्धिको बाटोमा लाग्यो । बीचमा द्वन्द्वले अवरोध भयो । संक्रमण र अस्थिरतामा रुमल्लियौं । अब अनावश्यक ठाउँमा ऋण नलिने र उत्पादनशील क्षेत्रमा बाह्य लगानी भित्र्याउने हो । व्यक्तिको होइन विधिको शासन ल्याउने हो ।’
उनले कात्तिक ४ सम्म कांग्रेसका सबै बागी उम्मेदवारी निष्क्रिय हुने विश्वास व्यक्त गरे । प्रवक्ता महतले भने, ‘कांग्रेस एमालेजस्तो खोजी खोजी ल्षएर उम्मेदवार बनाउने सानो पार्टी होइन । गठबन्धनका कारण हाम्रा धेरै योग्य, क्षमतावान् र सिनियर साथीहरुले टिकट पाउनुभएको छैन । साथीहरुका केही असन्तुष्टि छन्, भावनामा आएर उम्मेदवारी दिनुभयो । अब हामी त्यसको व्यवस्थापन गर्दैछौं । अधिकांशले फिर्ता लिइसक्नुभएको छ । मंसिर ४ सम्म सबैले फिर्ता गरिसक्नुहुन्छ । एकाध बागी त हरेक निर्वाचनमा हुन्छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot