Logo

कीर्तिमानसहित जयरानीले जितिन् चार स्वर्ण



काठमाडौं, कात्तिक २ । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार पोखरा रंगशालमा ४ गुणा १०० मिटर रिलेमा जयरानी थारुसहितको आर्मी टिमले स्वर्ण जितेको छ ।

त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले यसअघि तीन वटा स्वर्ण जितिसकेकी छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानीले स्वर्ण पदक जितेकी छन् ।

उनले खेलमा निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक मात्र आफ्नो पोल्टामा पारिनन् तीन महिना अघिको आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत सुधार गरिन् । थारुले गएको असारमा काठमाडौँमा सम्पन्न ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७.०२ सेकेण्डमा सो विधामा आठ वर्षअघिको पुरानो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउन सफल भएकी थिइन् ।

त्यसैगरी सोमबार उनले एथ्लेटिक्सको महिलातर्फ १०० मिटर हर्डल्समा पनि स्वर्ण जितेकी हुन । जयरानीले उक्त खेलमा पनि नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्न सफल भएकी हुन् । खेलको हिट चरणमा १५.१६ सेकेन्डको कीर्तिमान बनाएकी जयरानीले सोमबार भएको फाइनलमा १५.६९ सेकेन्ड खर्चेर पनि स्वर्ण पदक जितेकी छन् ।

जयरानीले मंगलबार सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान थियो ।

जयरानीले नवौँ राष्ट्रिय खेलकुदको प्रतिस्पर्धामा सहभागी हुन पोखरा आउनुअगावै कीर्तिमान सुधारको लक्ष्य राखेको बताएकी छन् ।

राष्ट्रिय खेलकुदमा पहिलोपटक स्वर्ण पदक जितेपछि उनले पोखरा रङ्गशालाबाट बर्दिया घरमा रहेकी आमा सुगही थारुलाई फोन गरेर आफ्नो सफलता सुनाइन् । आमाले बधाई भन्दै अझै राम्रो गर छोरी भनेर हौसला दिएको जयरानीले बताइन् ।

राष्ट्रिय खेलकुदमा सफलता मिलेपछि उनको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउने छ



प्रतिक्रिया दिनुहोस्

Screenshot