Logo

कांग्रेस नेतालाई धमलाको प्रश्न- घोषणापत्र त हात्ती आयो हात्ती आयो फुस्सा भयो नि !



काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसका नेता शंकर तिवारीले समुन्नत नेपाल, सम्मानित नेपाली बनाउने गरी पार्टीको घोषणापत्र आएको बताएका छन् ।

‘हामीले घोषणापत्रमार्फत समुन्नत नेपाल र सम्मानित नेपाली बनाउने प्रस्थान विन्दु तयार गरेका छौं । रेमिट्यान्समा आधारित अर्थतन्त्र बदल्ने भनेका छौं । आयातमुखी अर्थतन्त्रको साटो उत्पादनशील अर्थतन्त्रमा जोड दिएका छौं । विदेशी लगानी भित्र्याउनका लागि मौजुदा कानुन बदल्ने भनेका छौं । संविधानको रक्षा गर्ने भनेका छौं । सुशासन दिन्छु भनेका छौं । कांग्रेसको घोषणापत्रलाई तपाईंले कसरी हात्ती आयो हात्ती आयो फुस्सा भन्नुभयो ? यसमा निरन्तरतामा नवीनता किन देख्नुभएन ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै घोषणापत्र तयारी समितिका सदस्य समेत रहेका तिवारीले प्रतिप्रश्न गरे ।

जनताको अवस्था बदल्नका लागि कांग्रेसको घोषणापत्र आएको पनि उनले बताए । तिवारीले थपे, ‘वार्षिक रुपमा पाँच लाख युवा श्रमबजारमा आउँछन् । तिनीहरुमध्ये आधाजसो अर्थात् वर्षको साढे २ लाख रोजगारी सिर्जना गर्ने भनेका छौं । विश्वको नेपालमा विश्वका एक तिहाई हिमशृंखला छन्, पाँच वर्षभित्र वार्षिक २० लाख पर्यटक भित्र्याउने भनेका छौं । ऊर्जाको विकासमा जोड दिएका छौं । कोखदेखि शोकसम्मका बृहत् सामाजिक सुरक्षा जनताको अवस्था बदल्नकै लागि त हो नि ।’
गठबन्धनका दलहरुले न्यूनतम कार्यक्रम घोषणा गरिसकेकाले त्यसमा किन्तु-परन्तु गर्ने छुट नभएको पनि तिवारीले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot