Logo

बाँकेमा सुरु भए ऐतिहासिक मेला



काठमाडौँ,२२ कार्तिक । बाँकेको जानकी गाउँपालिकस्थित जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला सुरु भएका छन् ।

कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका वडा नं २ जोगागाउँ र वडा नं ५ गुरुवागाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ । आजदेखि सुरु भएको मेला तीन दिनसम्म सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए।

उनका अनुसार पुराना मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट भक्तजन आउने गर्दछन् ।

मेलाका क्रममा सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछ । ऐतिहासिक मेलाको संरक्षणका लागि आफूहरूले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष खाँले बताए । गुरुवागाउँ मेलामा हुने भेडा जुधाइ प्रतियोगिता हेर्न दर्शकको घुइँचो लाग्ने गरेको स्थानीय अगुवा पूर्ववडाध्यक्ष रमेश बर्माले बताए ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ टिकुलीपुरमा सोमबारदेखि तीनदिने डिग्रे मेला सुरु भएको छ । सिद्ध साइकुमारी मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन हुने गरेको राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्र वलीले जानकारी दिए ।

¬यसैबीच कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्तीको सिधनिया घाटमा पनि मेला लागेको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्ती नदीमा स्नान गरी दान दिने र पूजाआजा गर्नेको ठूलो भीड लाग्ने गरेको छ । कतिपयले स्नान गरी नदी छेउमा गौदानसमेत गर्ने गर्दछन् । गौदान गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्