काठमाडौं, २ मंसिर । नेपालले युएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शुक्रबार) भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले युएईलाई ६ विकेटले हराउँदै सिरिज २–१ ले आफ्नो बनाएको हो ।
नेपालले युएईले दिएको १ सय ७७ रनको लक्ष्य ४० ओभर १ बलमा ४ विकेट गुमाएर १ सय ८० रन जोड्दै पूरा गरेको हो । नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ खेले । दुई पटक जीवनदान पाएका आसिफले अविजित रहदै सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ खेले । उनले १ सय १९ बलमा १२ चौका प्रहार गरे ।
यस्तै, मल्लले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनको योगदान दिए । कप्तान रोहित पौडेलले १० तथा ओपनर अर्जुन साउद ९ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी सुन्य रनमा रन आउट भए । हरिशंकर साह सुन्य रनमा अविजित रहे ।
युएईका हजरत बिलाल र आयन अफजल खानले १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । युएईका लागि आयन अफजल खानले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । हजरत बिलालले अविजित २० रन बनाए । मात्र ९३ रन जोड्दा ९ विकेट गुमाएको युएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे।
यस्तै अलिशन शराफुले ३३ रन बनाए । रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए । नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २÷२ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले १÷१ विकेट लिए ।