Logo

सुनवल नगरपालिकाका वडावडामै योजना सम्झौता



काठमाडौँ,१३ मँसिर । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाले वडाबाटै योजना सम्झौता गर्न थालेको छ । वडाबाटै योजना सम्झौता हुन थालेपछि नगरवासीलाई सहज भएको छ । नगरसभाबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न थालिएको नगरप्रमुख बिमला अर्यालले जानकारी दिनुभयो ।

सम्बन्धित वडामा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारीसहितको टोली पुगेर सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गर्ने काम भइरहेको नगरप्रमुख अर्यालले बताउनुभयो । “वडाबाटै सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिन्छ, उपभोक्ता समितिलाई अब योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ”, नगरप्रमुख अर्यालले भन्नुभयो, “सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडावडामै योजना सम्झौतालाई अभियानका रूपमा अगाडि बढाइएको हो ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरवासी लाभग्राहीका लागि यो एक प्रकारको घुम्ती सेवा जस्तै भएको बताउनुभयो । “उपभोक्ता समितिले योजना सम्झौतापश्चात् अन्तिममा काम सकेर भुक्तानीका लागि मात्रै नगरपालिका कार्यालयमा आए हुन्छ”, मरासिनीले भन्नुभयो । जम्मा १३ वडा रहेको नगरपालिकाका हालसम्म वडा नं ४, ५ र १२ मा यो कार्यको सुरुआत भइसकेको छ । बाँकी वडामा क्रमशः सम्झौता गरिने छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot