Logo

गोलभेँडा बिक्रीबाट बार्षिक डेढ करोड आम्दानी



बागमती, पुस १० । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानले व्यावसायिकरूपमा गोलभेँडालगायत अन्य तरकारी खेतीबाट मनग्य आम्दानी लिएका छन् ।

कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले जिल्लालाई नै तरकारी खेतीबाट आत्मनिर्भर बनाउनेतर्फ लागेको देखिन्छ । उनीहरुले विगत ६ महिनामा ३ लाख रूपैयाँभन्दा बढीको गोलभेँडा बिक्री गरेको सो गाउँपालिकाले जनाएको छ ।

अहिले दैनिक रूपमा मकवानपुरगढीमा उत्पादन भएको गोलभेँडा हेटौंडालगायतका अन्य बजारमा ढुवानी भई बिक्री वितरण भइरहको छ ।

गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले सो गाउँपालिकामा १ सय जना किसानले १ सय हेक्टर जमिनमा गोलभेँडा खेती गरी उक्त आम्दानी लिएको जानकारी दिए। गाउँपालिकाले तरकारी खेतीका लागि अनुदानसमेत सञ्चालन गरेको बताइएको छ ।

उनले कृषि उत्पादनबाट किसानलाई आत्मनिर्भर बनाउन टनेल कृषि कार्यक्रमसमेत सञ्चालन गरेको बताए । अव्यवस्थित चुरे तथा पहाडी विशेषता बोकेको गाउँपालिकामा भौगौलिक बनावटका आधारमा कृषि कार्यक्रम सञ्चालन गरिरहेको कृषि अधिकृत चौधरीले बताए ।

गाउँपालिकामा चार सय ५० हेक्टर क्षेत्रफलमा हुने तरकारी खेतीबाट वार्षिक ६ हजार पाँच सय मेट्रिक टन विभिन्न किसिमका तरकारी उत्पादन हुने गरेको बताइएको छ ।

मकवानपुरगढी–१ मा २० किसानले २७, वडा नं २ मा २० किसानले एक हजार नौ सय वर्गमिटर क्षेत्रफलमा एक सय १९, वडा नं ३ मा १७ किसानले ६०, वडा नं ४ मा २३ किसानले ३५, वडा नं ५ मा २८ किसानले ३१ टनेल निमार्ण गरी खेती गरिरहेको कृषि शाखाको तथ्यांकमा उल्लेख छ ।

यस्तै वडा नं ६ मा २१ किसानले १ सय पाँच, वडा नं ७ मा ६६ किसानले एक सय र वडा नं ८ मा ८२ किसानले गरी जम्मा तीन सय ५३ वटा टनेल निर्माण गरी गोलभेँडाको तरकारी खेती गरिरहको बताइएको छ । किसानले अहिले दैनिक रु तीनदेखि पाँच लाखसम्मको गोलभेँडा बिक्रीका लागि हेटौंडा बजारलगायतको अन्य बजारमा समेत बिक्रीका लागि पठाउने गरेको उनले बताए ।

गाउँपालिकाले टनेल निर्माणका लागि किसानलाई निःशुल्क प्लाष्टिक, तालिम तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको छ । तरकारी खेतीका लागि यस वर्ष पनि ५ लाख रूपैयाँ छुट्याएको सो कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot