Logo

उपेन्द्र यादवको आँफै सरकारमा जाने दाउ, बारा–२ बाट निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउन खुमलटारमा लविङ



काठमाडौं, १२ पुष । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव मंसिर ४ गतेको निर्वाचनमा सप्तरीबाट पराजित भएका छन् । आफ्नो पराजयबाट उनी विक्षिप्त बनेका छन् । यादवको पराजयलाई लिएर मधेशमा मात्रै नभए सिंगो राष्ट्रिय राजनीति नै तरंगित बनेको थियो ।

यादवले भने आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति मिलेर पराजित गरेको बताउँदै आएका छन् । यादव मधेशबाट राष्ट्रिय राजनीतिमा उदाएको जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित बनेका हुन् । राउत भने यादवलाई मधेश आन्दोलनको नायकको रुपमा लिन्छन् । र, आफू यादवबाट सधैं प्रभावित रहेको उनको भनाई रहँदै आएको छ । यादवमाथि जातीयवाद लाद्ने गरेको आरोप पनि लाग्दै आएको छ ।

उपेन्द्र यादव र नवनियुक्त प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सुमधुर सम्बन्ध रहेको बताइएको छ । तर, दाहालले एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदहरुको समर्थनमा सिंहदरबारको यात्रा तय गर्दा यादवले भने सुरुवातमै दाहाल क्याविनेटमा मन्त्री नपठाउँदा प्रश्न उब्जिएको छ । यादवले हिजै सरकारमा पार्टीको तर्फबाट मन्त्री पठाउनेबारे प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समझदारी गरेका थिए ।

तर, शितलनिवासको शपथग्रहणमा भने जसपाबाट कोही पनि मन्त्रीले सहभागिता जनाएनन् । यादव अझैपनि ‘पर्ख र हेर’ को नीतिमा छन् । उनले पार्टीको संसदीय दलको नेता पनि चयन गर्नलाई चासो देखाएका छैनन् । आफू सांसद नभएकै कारण यादवले त्यसप्रति रुचि नदेखाएको पार्टीभित्र चर्चा चल्न सुरु भएको छ । जसपामा प्रत्यक्षमा ७ र समानुपातिकतर्फ ५ गरी जम्मा १२ जना सांसद छन् । संघीय परिषद् अध्यक्ष अशोक राई पनि सांसद भएको कारण धेरैले राई नै दलको नेतामा सर्वसम्म्त हुने चर्चा गरेका छन् । तर, अध्यक्ष यादवले राईलाई मौखिक रुपमा तपाईँ नै दलको नेता हो भनेपनि भित्री रुपमा भने चुनाव गराएर राईलाई दलको नेता बन्नबाट बञ्चित गराउन खोजेका छन् ।

जसपाको संसदीय दलको नेता आज साँझसम्म चयन नभए भोलि मतदानबाट टुँगो लगाउने चर्चा छ । अहिले राईसँगै नेता राजकिशोर यादव र नवलकिशोर साहको नाम चर्चामा छ ।

रोचक कुरा त के भने यादव आँफै पूनः संसद् छिर्नेगरि रणनीतिक चालमा उत्रिएका छन् । यादवले बारा क्षेत्र नम्बर २ बाट निर्वाचित आफ्नो पार्टीका सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउन लविङ थालेका छन् । यसको लागि उनले एमाले र माओवादी केन्द्र दुवै दलका नेतृत्वसँग कुरा चुहाएको चर्चा छ । चुनावअघि पनि सो क्षेत्रबाट उपेन्द्र यादवको नाम सिफारिश भएको थियो ।

पार्टीका शीर्ष नेताहरुले पनि यादवलाई बारा–२ बाटै चुनाव लड्न सुझाएका थिए । तर, यादव सप्तरीबाट नै मैदानमा उत्रिएका थिए । जहाँ उनी सिके राउतसँग नमज्जाले पराजित भए । उक्त पराजयको चोटबाट ग्रसित यादव रामसहाय प्रसाद यादवलाई उपरराष्ट्रपति बनाउने र उक्त खाली रहने क्षेत्रबाट चुनावी प्रतिष्पर्धामा उत्रिनेगरि गृहकार्यमा जुटेका छन् ।

रामसहायले भने नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई पराजित गरेका थिए । निर्वाचित यादवले १३८२३ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३४६८ मत पाए । सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ११०४३ र अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १०७५० मत ल्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot