Logo

बसाइँ सरेर आउनेलाई दुहुनो गाई



हिले, पुस १५ । धनकुटाको पहाडी छथरजोरपाटी गाउँपालिकामा पछिल्लो तीन वर्षमा ३६ घरपरिवार बसाइँ सरेर आएको तथ्याङ्क छ। तथ्याङ्कगत रूपमा यो सङ्ख्या कम भए पनि पहाडी क्षेत्रबाट बसाइँ सर्नेको लर्को बढिरहेको बेला छथरजोरपाटी गाउँपालिकाले भने बसाइँ सरेर आउनेलाई आकर्षित गर्न सफल भएको देखिन्छ।

सहरी सुविधा र कामको खोजीमा पहाडबाट अन्यत्र बसाइँ सरी जाने क्रम बढ्दो छ। जसले गर्दा पहाडका उर्बर भूमि बाँझिने क्रमसमेत उत्तिकै बढेको छ। यस्तोमा धनकुटाको छथरजोरपाटी गाउँपालिकाले बसाइँसराइ कम गर्न तथा बसाइँ सरेर आउने परिवारलाई आकर्षित गर्न सफल भएको हो। यसको उपाय बन्यो, बसाइँ सरेर आउनेलाई दुहुनो गाई उपहार कार्यक्रम। गाउँपालिकाले दुहुनो गाई उपहार अभियान चलाएकोले पहाडी क्षेत्र मात्रै होइन, झापाबाट बसाइँ सर्नेलाई पनि आकर्षित गर्न थालेको छ।

अघिल्लो कार्यकालका जनप्रतिनिधिले ल्याएको यस्तो योजनालाई नयाँ जनप्रतिनिधिले समेत अघि बढाएका छन्। कार्यक्रम सफल र राम्रो भएकाले यसलाई निरन्तरता दिइएको पालिकाले जनाएको छ। बढ्दो बसाइँसराइलाई नियन्त्रण गर्न तथा बसाइँ सरेर आउनेलाई आकर्षित गर्न यो कार्यक्रम लागू गरिएको गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा बताउन्छन्।

“पहाड रित्तिने क्रम बढेकोले बसाइँ सरेर आउनेलाई जीविकोपार्जनमा सहयोग पुगोस् र उनीहरू आकर्षित होऊन् भनेर हामीले यो कार्यक्रम अघि सारेका हौँ,” अध्यक्ष सुब्बाले भने। यो कार्यक्रमअन्तर्गत अन्य जिल्ला तथा स्थानीय तहबाट बसाइँ सरी आएमा गाउँपालिकाले एउटा लैनो गाई उपलब्ध गराउँछ। गोखरापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot