Logo

एमाले सौदाबाजी र बदलाको राजनीति गर्दैन, प्रचण्डसँगको सम्बन्ध पनि सुध्रिसक्यो– सूर्य थापा



काठमाडौं, १५ पुष । नेकपा (एमाले) का युवा नेता सूर्य थापाले नेकपा (माओवादी केन्द्र) सँगको सम्बन्ध सुध्रिएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कटु आलोचकका रुपमा चिनिएका थापाले हिजो (बिहीबार) प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँग संवादका क्रममा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेसँगै सम्बन्ध सुध्रिएको बताएका हुन् ।

‘प्रचण्डसँग सम्बन्ध बिग्रिएको थियो, उनि बालकोट गएर लयमा फर्किए । कलाकारहरुले ‘के छ खबर पुरानो जोडाको’ भनेर गीतसमेत बनाइसके,’ थापाले भने । साथै नेपाली कांगे्रसको नेतृत्वमा रहेको पूर्व पाँच दलीय गठबन्धनलाई थापाले बदनाम, जनविरोधी, विकास विरोधी र निकम्मा गठबन्धनको संज्ञा दिएका छन् । हालै सम्पन्न मंसिर ४ को निर्वाचनले कांगे्रस सभापति शेरबहादुर देउवा नेतृत्वको अप्राकृतिक गठबन्धनको विदाइ भएको उनले बताए ।

‘यो आवधिक निर्वाचनबाट पुरानो जनादेशसँगै परमादेश विदाइ भयो । ठग बन्धन विदाइ भयो । शेरबहादुर देउवा विदाइ हुनुभयो । उनको नेतृत्वमा मिलेर बनेको ‘कालेकाले मिलेर खाउ भाले’ गठबन्धन असैद्धान्तिक, अप्राकृतिक र केही काम गर्न नसक्ने गठबन्धन विदाइ भयो,’ उनले भने ।

साथै, प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अब दरार नआउने र माओवादीसँग वाम एकता चाहिँ नहुने उनले बताएका छन् । अहिलेको सरकारमा राष्ट्रपति र सभामुख एमालेको भागमा रहेको र एमालेसँग राष्ट्रपति बनाउनका लागि एक सय एक उम्मेदवार रहेको उनले बताए ।

साथै, एमालेले सौदाबाजी र बदलाको राजनीति नगर्ने दाबी गर्दै अबका दिनमा माओवादीसँग विश्वासको राजनीति सुरु भएको उनले बताए । नेकपा (एकीकृत समाजवादी) सँग घाम जून रहेसम्म पार्टी एकीकरण हुन नसक्ने र माधव नेपाललाई एमालेले राष्ट्रपतिको रुपमा अगाडि सार्ने कुरा हल्ला मात्रै भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot