Logo

भारतले हस्तक्षेप गरेको हामीलाई हेक्का छैनः जसपा नेता



काठमाडौं, २४ पुस । जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनीषकुमार सुमनले पार्टीले पुस २६ मा पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिने निर्णय गरिनसकेको बताएका छन् ।
‘हामी सात दलीय गठबन्धनमा छौं । सरकारलाई समर्थन पनि गरेका हौं । तर विश्वासको मत दिने निर्णय गरिसकेका छौं । सरकारको न्यूनतम साझा कार्यक्रम र राजकीय शक्तिको बाँडफाँडमा टुंगो लागेपछि त्यसबारेमा टुंगो लाग्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुमनले भने ।
जसपाले उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय, उपराष्ट्रपति र मधेस प्रदेशको मुख्यमन्त्री चाहिन्छ नभनेको पनि उनले दाबी गरे । सुमले थपे, ‘अहिले राज्यमा ३५ वटा पद नियुक्त हुन्छन् । यो सरकार सातवटा पार्टी मिलेर बनेको छ । हामीले फलानो पद चाहिन्छ भनेको भन्नु मिथ्या कुरा हो । जहाँसम्म मधेस प्रदेशको मुख्यमन्त्रीको कुरा छ, सात दलमध्ये जसपा एमालेपछिको ठूलो दल हो । सातवटै दलको भागबन्डा मिलाउँदा मधेस प्रदेश जसपालाई हात लाग्न सक्छ ।’
न्यूनतम साझा कार्यक्रममा नागरिकता समस्या समाधान एक महिनाभित्र हुने लेखिएको छैन नि भन्ने प्रश्नमा सुमनले भने, ‘६ महिना होस् वा एक महिना, हामी पर्खन तयार छौं तर कानुन बन्नुपर्छ । नागरिकता समस्या आज बल्झेको होइन । त्यति पर्खन सकिन्छ ।’
धेरै पार्टीहरु जसपासँग सहकार्य, गठबन्धन र एकीकरण गर्न चाहने भएकाले वार्ता समिति बनाएको पनि सुमनले औंल्याए । उनले भने, ‘पार्टी एकीकरणमा जसपा वीरताको कमाएको पार्टी हो । अहिले पनि धेरै पार्टीहरु सहकार्य, गठबन्धन र एकीकरण गर्न चाहन्छन् । वार्ता कमिटी बनाएका छौं । तर यो फलानो फलानो पार्टी भनेर लक्षित छैन । एकीकृत समाजवादी वा अन्य दलसँग एकता असम्भव छैन ।’
नेता सुमनले सरकार निर्माणमा भारतले हस्तक्षेप गरेको आफ्नो पार्टीलाई हेक्का नभएको जिकिर पनि गरे । उनले भने, ‘भारत हाम्रो मित्रराष्ट्र हो । सरकार-सरकारबीच मात्र नभएर जनता-जनताबीचमा पनि सम्बन्ध छ । भारतले के-के चलखेल गर्‍यो भन्ने कुराको पुष्टाइँ लिनु छ भने केपी ओलीसँगै लिनुहोस् । तर शेरबहादुर देउवाको सक्रियता भने के कारणले हो, बढेकै छ । त्यो अलिक अस्वाभाविक छ । भारतले देउवाको सक्रियता बढाउन बल लगाउँछ भन्ने मलाई लाग्दैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot