Logo

राष्ट्रपति भण्डारीद्वारा काजी पाँडेको सालिकमा माल्यार्पण



काठमाडौं, २७ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको दहचोकस्थित समाधिस्थल र सालिकमा माल्यार्पण गरेकी छन् ।
राष्ट्रपति भण्डारी ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी दहचोक पुगेकी हुन् ।

राष्ट्रपति भण्डारीले त्यहाँस्थित मनकामना मन्दिरमा दर्शनसमेत गरिन् । तत्कालीन गोर्खाली सेनाले राजधानीमा आक्रमण गर्नुअघि त्यो मन्दिर बनाइएको जनाइएको छ । काजी पाँडे पृथ्वीनारायण शाहका सेनापति थिए । नेपाल एकीकरणमा सेनापति पाँडेले गरेको योगदानको कदर गर्दै दहचोकस्थित उनको समाधिस्थलमा सालिक निर्माण गरिएको छ ।

राष्ट्रपति भण्डारीले सोही सालिकमा माल्यार्पण गरेकी हुन् । विसं १८१४ मा कीर्तिपुरमा भएको लडाइँमा काजी पाँडेले वीरगति प्राप्त गरेका थिए । सो युद्धमा गोर्खाली सेनाका धेरै सैनिक पनि मारिएका थिए । सेनापती पाँडेको निधनपछि उनकै इच्छा अनुसार गोरखा देखिने दहचोकमा सद्गत् गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot