Logo

मलंगवाको नवनिर्मित बसपार्क नगरपालिकालाई हस्तान्तरण, माघ १८ गते भित्र उद्घाटन गरिने



सर्लाही, माघ ५ । मलंगवा नगरपालिकाको वडा न–२ मा नवनिर्मित बसपार्क एक कार्यक्रमका बिच नगर प्रमुख नागेन्द्र प्रसाद यादव मार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

संघीय आयोजना कार्यान्वयन ईकाइ धनुषाले बुधबार आयोजना गरेको एक कार्यक्रमका बीच ईकाइका प्रमुख प्रदिप खनालले नगर प्रमुख यादवलाई बसपार्कको साचाें हस्तान्तरण गरेको हो ।

कार्यक्रममा नगर प्रमुख यादवले उक्त बसपार्कको निर्माणले नगर व्यवस्थित हुनुका साथै नगरको विकासमा समेत टेवा पुर्याउने बताए । नगरपालिकाको सभाहलमा आयोजना भएको हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले सुविधा सम्पन्न बसपार्क निर्माण गरी हस्तान्तरण गरेकोमा ईकाइ प्रमुख र निर्माण कम्पनीलाई धन्यवाद दिएका थिए ।

मलंगवा नपा वडा न–२ स्थित जिल्ला प्रहरी कार्यालयको छेउमा निर्माण भएको उक्त बसपार्कको जम्मा क्षेत्रफल १२५७५.९ व.मि (२५ रोपनी) रहेको छ । कन्काई इन्टरनेशनल विल्डर्स सुरुङ्गा, झापाले निर्माणको जिम्मा पाएको उक्त बसपार्कमा जम्मा ८ करोड ३१ लाख रुपैयाको लगानी लागेको छ ।

नवनिर्मित बसपार्कमा एकैसाथ ५२ वटा ठूला र २० वटा साना गरि ७२ वटा गाडीहरु पार्किङ गर्न सक्ने क्षमता रहेको र यसमा अढाई तल्ले टर्मिनल भवन, पब्लिक शौचालय, खानेपानीको व्यवस्था, यात्रु प्रतिक्षालय, वर्कसप एरिया, पार्किङ लगायतका सुविधाहरु रहेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

बसपार्क हस्तान्तरण हुनु पुर्व बुधबार बिहान नगर प्रमुख यादव, प्रमुख प्रशासकीय अधिकृत गौतम, मलंगवा नपा वडा न–२ का वडाअध्यक्ष धिरेन्द्र साह लगायत प्राविधिक तथा कर्मचारीहरुको टोलीले नवनिर्मित बसपार्कको निरिक्षण समेत गरेका थिए ।

बसपार्कको यही माघ १८ गतेभित्र विधिवत रुपमा समारोहको आयोजना गरि उद्घाटन गरिने हस्तान्तरण कार्यक्रमका संचालक एवं न.पा का कार्यक्रम अधिकृत राजकुमार अधिकरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot