Logo

गृह प्रवक्तालाई धमलाको प्रश्न– नयाँ गृहमन्त्री आएपछि कतिवटा वक्तव्य जारी गर्नुभयो ?



काठमाडौं, ८ माघ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई छिटोभन्दा छिटो पक्राउ गरेर कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिइएको बताएका छन् ।
‘प्रहरीले माननीय मन्त्रीज्यूलाई नटेरेको कुरा सत्य होइन । प्रहरीले लक्ष्मी महतो कोइरीलाई पक्रन नसकेको पनि होइन । अदालतले मुद्दा टुंग्याइसकेपछि कानुनी दायरामा ल्याउनु हाम्रो कर्तव्य हो । प्रहरी भनेको संस्था हो, उसले गृहमन्त्रालयको निर्देशन नमान्ने कुरा हुन सक्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता पोखरेलले भने ।
सांसद महतोलाई छिटोभन्दा छिटो पक्रेर कानुनी दायरामा ल्याउनुपर्ने पनि उनले औंल्याए । उनले भने, ‘अपराधमा सलंग्न व्यक्ति हुन् कि सांसद हुन्, तिनलाई कानुनी दायरामा ल्याउनुपर्छ । त्यसमा मैले विवाद गर्नुपर्ने कुरा केही छैन । अहिले नभेटीकन कहिले पक्रिन्छ, म भन्न सक्दिनँ । यसबारे प्रहरीलाई नै सोध्नुस् । हामीले पक्रन निर्देशन दिएका छौं ।’
नयाँ गृहमन्त्री आएपछि कतिवटा वक्तव्य जारी गर्नुभयो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘गृह मन्त्रालयले वक्तव्यबाजी पनि गर्नुपर्छ, काम पनि गर्नुपर्छ । जुनसुकै अपराधकर्म गर्नेलाई कानुनको दायरामा ल्याउन पत्राचार गर्नु अन्यथा होइन । सरकार बनेको एक महिना मात्र भएको छ । एक महिनाभित्र देश चेन्ज हुने हो भने देश कहाँ पुगिसक्थ्यो ? हामीले काम सुरु गरेका छौं । परिवर्तनको चाँडो महसुस हुन्छ ।’ उनले मिटर ब्याजीलाई पनि कानुनी दायरामा ल्याइने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot