Logo

निर्णायक बैठक र पत्रकार सम्मेलनअघि रविले भेटे प्रधानमन्त्री प्रचण्डलाई, आज सिधा कुरा गर्ने तयारी



काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहने भन्नेबारे आज निर्णय लिने भएको छ । यसअघि दुई दिनको लागि दिएको अल्टिमेटम हिजो साँझ सकिएको थियो । रास्वपाले गृहमन्त्रालयमा दाबी गरेको छ। तर, प्रधानमन्त्री पुष्पकमल दाहालले कुनैपनि हालतमा गृहमन्त्रालय रवि लामिछानेलाई नदिने अडान लिएका छन् ।

दाहालले लामिछानेलाई मात्रै नभएर उनी नेतृत्वको रास्वपालाई नै गृहमन्त्रालय नदिने अडान दिएका छन् । रास्वपाले भने पुष १० मा नै गृहमन्त्रालय आफूले पाउने सहमति भएकोले त्यसबाट दायाँबायाँ हुन नपाउने भनेको छ । लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ पाएका छन् । तर, दाहाले भने सत्ता गठबन्धन नै धरापमा पारेर भएपनि गृहमन्त्रालय कुनै हालतमा अरुलाई नदिनेमा पुगेका छन् ।

रास्वपाले आज निर्णायक कदम चाल्ने भनेको छ। त्यसको लागि पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान भएको छ। त्यसअघि सभापति लामिछानेले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा दाहालले गृहको साटो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री दाहालको प्रस्तावबारे पार्टीमा छलफल हुने भनिएको छ । तर, लामिछानेले सामाजिक सञ्जालमार्फत गरेको संकेतले रास्वपा सरकारबाट बाहिरिने सम्भावना बढेको छ। उनले आफूले सिधा कुरा नगरेको धेरै भएको भन्दै आज विशेष पत्रकार सम्मेलन गर्ने पनि जनाएका छन् । पार्टीको बैठकलगत्तै उनले पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot