Logo

सम्पत्ति शुद्धिकरण ऐनलाई संसद्‍मा नल्याउनु गम्भिर विषय : सांसद् पौडेल



काठमाडौं, २२ माघ । सम्पत्ति शुद्धिकरण सम्बन्धि ऐनलाई हालसम्म संसदमा नल्याउनु गम्भिर विषय भएको कांग्रेस नेता प्रदीप पौडेल बताएका छन्। उनले आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सम्पत्ति शुद्धिकरण सम्बन्धि ऐनलाई हालसम्म संसदमा नल्याउनु गम्भिर विषय रहेको बताएका हुन्।

उनले भने, ‘सम्पत्ति शुद्धिकरण सम्बन्धि ऐनलाई संशोधन गर्न बनेको बिधेयकलाई हालसम्म संसदमा नल्याउनु गम्भिर विषय हो। गत पौष १ गते एफएटीएफको टोली नेपालको स्थलगत मूल्याङ्कन गरेर फर्कियो। उसको मूल्याङ्कनले स्पष्ट भन्छ कि कानुन बनाउ नत्र तिम्रो देश ग्रे जोनको सूचीमा पर्छ। उसले तोकेका मापदण्डहरु पूरा गर्न नसक्दा कतिपय ठूला देशहरु आर्थिक विषयको अन्तर्राष्ट्रिय सञ्जालबाट बाहिरिएका छन्, जसको कारण आर्थिक प्रणालीमा ति देशहरुले ठूलो संकट सामना गरिरहेका छन् भने हाम्रो जस्तो रेमिटेन्समा निर्भर देश ग्रे जोनमा परेर अन्तर्राष्ट्रिय वित्तिय प्रणालीबाट दण्डित र बञ्चित हुन पुग्यो भने हाम्रो सिङ्गो अर्थतन्त्र नै धरासायी हुन पुग्छ।’

नेता पौडेलले विगतमा अध्यादेश बनाएर संसद्‍मा पेश गरिएपनि राष्ट्रपतिबाट जारी नभएको बताउँदै भने, ‘हिजो यो विषयमा अध्यादेश बनाएर पेश गरियो। सम्माननिय राष्ट्रपतिबाट जारी भएन। यो आज पुनः फास्ट ट्रयाकबाट अस्थायी समाधान खोजेर मात्र पुग्दैन। अन्तर्राष्ट्रिय जगतलाई विश्वस्त बनाउने र आन्तरिक सुधार, भ्रष्टाचारको अन्त्य, हुण्डी निवारणलगायतका विषयका लागि कडा कानुन निर्माण गरेर राइट ट्रयाक खोजियोस्।’



प्रतिक्रिया दिनुहोस्