Logo

‘साइट क्लियर’ नहुँदा चिनियाँ पक्ष कामविहीन



काठमाडौं, माघ २५ । नेपाल सरकारले चक्रपथ दोस्रो खण्ड विस्तारअन्तर्गत कार्य पूरा नगर्दा चिनियाँ पक्षले काम अघि बढाउन सकिरहेको छैन ।

आयोजना दोस्रो खण्ड विस्तार तयारी थालेको तीन वर्ष बित्दासमेत ‘साइट क्लियर’कै काममा सरकार अलमलिएको हो । चिनियाँ सरकारको अनुदान सहयोगमा विस्तार हुने कलंकीदेखि महाराजगञ्ज खण्डमा नेपाल पक्षले ‘साइट क्लिअर’ अझै सम्पन्न गरेको छैन ।

‘साइट क्लियर’ सम्पन्न नहुँदै नेपाल सरकारले चिनियाँ पक्षलाई दुईपटक बोलाएर विस्तार कार्य अघि बढाउन अनुरोध गरिसकेको छ । चिनियाँ पक्षले भने शतप्रतिशत ‘साइट क्लियर’ नहुँदासम्म काम नथाल्ने अडान राख्दै आएको छ ।

चक्रपथ दोस्रो खण्ड विस्तारः सरकारको ढिलाइले झनै अलमल

नेपाल सरकारले ‘साइट क्लियर’ सम्पन्न भएको जनाएपछि चिनियाँ पक्ष एक महिनाअघि ‘फिल्ड भिजिट’मा आएको थियो । तर, निर्माणस्थलमा मन्दिर देखेपछि चिनियाँ पक्ष फर्कियो ।

करिब एक वर्षअघि पनि नेपालले चिनियाँ पक्षलाई विस्तार कार्य हस्तान्तरणका लागि बोलाएको थियो । स्वयम्भूस्थित ‘दुईवटा बिजुलीका पोल नहटाएको’ भन्दै चिनियाँ पक्ष फिर्ता भएको थियो ।

यद्यपि, एक वर्षबीच नेपाल पक्षले बिजुलीका पोल भूमिगत भने गरेको छ । तर, आयोजनाअन्तर्गत विभिन्न ठाउँमा मठमन्दिर छन् भने स्वयम्भूको पुरातात्विक सम्पदा क्षेत्रभित्र पर्ने भाग र महाराजगञ्जस्थित जग्गाको मुआब्जा विषय अझै टुंगिन सकेको छैन ।

यसअघि, गत पुस पहिलो साता चिनियाँ प्राविधिक टोलीले विस्तार गरिने चक्रपथ स्थलगत निरीक्षण गरेको थियो । त्यसबेला टोलीले स्वयम्भूका दुईवटा विद्युत्का टावर नहटाएको विषयलाई गम्भीर रूपमा लिएको थियो । स्वयम्भू र सानो भ¥याङमा रहेका दुईवटा ६६ केभीको बिजुलीका टावर नेपाल विद्युत् प्राधिकरणले हटाइसकेको छ ।

चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्डमा नेपालले पहिला ‘साइट क्लियर’ अर्थात् रूख, पोल र ढल हटाउनुपर्ने सम्झौतामा उल्लेख छ । यसपछि मात्र चिनियाँ पक्षले सडक विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जसनुसार चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर हुनुपर्नेछ । थप ६–६ मिटरमा नेपालले ‘सर्भिस ट्र्याक’ बनाउनुपर्ने हुन्छ ।

यसअघिको सरकारको पालामा परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक चीन भ्रमणक्रममा पनि चक्रपथ विस्तार विषय उठान भएको थियो । चीनको स्टेट काउन्सिलर र परराष्ट्रबीचको भेटमा निर्माण कार्य यथाशीघ्र सुरु गर्ने सहमतिसमेत भएको थियो ।

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएसँगै चिनियाँ सरकारले गर्ने भनिएका आयोजना कार्यमा तीव्रता भने देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले आयोजनास्थलका मन्दिर हटाएर चिनियाँ दूतावासमार्फत ‘साइट क्लियर’ भएको जानकारी गराएर विस्तार कार्य अघि बढाउन अनुरोध गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot