Logo

दिल्लीदेखि अस्ट्रेलियासम्म हुन्डीबाट करोडौंको कारोबार



काठमाडौं, फागुन ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलाठूला तथा नीतिगत भ्रष्टाचारमा संलग्न हुने सरकारी अधिकारीलाई अकुत सम्पत्तिमा छानबिन गर्न सकिने बताए पनि राजस्व, भन्सार र कर कार्यालयका उच्च पदस्थ सधै उम्कँदै आएका छन् ।

राजस्व, भन्सार र कर कार्यालयका उच्च कर्मचारीले व्यापारीबाट बुझेको करोडौं रकम हुन्डीमार्फत दिल्ली र अस्ट्रेलिया लैजाने गरेको स्रोतको दाबी छ । लामो समयदेखि यो क्रम जारी रहे पनि यसलाई रोक्न कुनै विशेष पहल हुन सकेको छैन । स्रोतका अनुसार व्यापारीसँगको सेटिङमा राजस्व चुहावट तथा छलीमा संलग्न हुने कैयौं कर्मचारीलाई व्यापारीले बक्सिस स्वरूप ठूलो परिमाणमा रकम दिने गरेका छन् ।

सो रकम कर्मचारीले हुन्डीमार्फत विदेश लैजाने गरेको दाबी स्रोतको छ । त्यसरी बिदेसिएको पैसाबारे समेत अख्तियारले कुनै भेउ पाउन सकेको छैन । सेटिङधारीले अख्तियारलाई समेत झुक्याइदिने गरेको बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले राजस्व, भन्सार र कर कार्यालयका कर्मचारीले व्यापारीबाट करोडौं रुपैयाँ बुझेर सो रकम हुन्डीमार्फत भारतको नोयडा र गुडगाउँ पठाउने गरेको भन्ने गुनासो व्यापक आइरहेको बताएका छन् ।

राज्यकोषमा आउनुपर्ने करोडौ रुपैयाँ ठगी गरी व्यापारीसँगको मिलेमतोमा राजस्व, भन्सार र कर कार्यालयका उच्च अधिकारीले करोडौं रकम भारत तथा अस्टे«लिया पठाउने गरेको गुनासो आए पनि त्यहाँ कार्यरत कर्मचारीमाथि कुनै प्रकारको छानबिन र अनुसन्धान हुन सकेको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि राजस्व चुहावट, चोरी, निकासी, पैठारी, न्यूनविजकीकरणजस्ता कार्य भइरहेकाले त्यस्ता कार्य तत्काल रोक्न सम्बन्धित सरकारी निकायलाई आवश्यक निर्देशन दिँदै आएको छ । तर, अख्तियारको निर्देशनको बेवास्ता हुँदै आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले राजस्व छली र चुहावटको विषय संवेदनशील भएकाले अख्तियारले यो विषयलाई उच्च नोटिसमा राखेको बताए । ‘मिलेमतोमा नै ठूलो परिमाणमा राजस्व छली र चुहावट हुने गरेका सूचना अख्तियारसमक्ष पनि आउने गरेको छ, त्यसबारे आयोगले विशेष संयन्त्रमार्फत छानबिन पनि गरिरहेको छ,’ अख्तियार प्रवक्ता भण्डारीले भने । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot