काठमाडौं, ७ फागुन । आज फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । आज देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर प्रजातन्त्र दिवस मनाईएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा आज काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको थियो । उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्कमल दाहाल, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरेलगायतको उपस्थिति थियो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले प्रजातन्त्र दिवसको महिमाबारे भनेका थिए,‘आजभन्दा ७३ वर्ष अगाडि हाम्रा पुर्खाले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको सङ्घर्षमार्फत जहानियाँ निरङ्कुश व्यवस्थामाथि विजय हासिल गरेको उल्लेख गर्नुभयो । निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षदेखि वर्तमानसम्म देशमा निकै ठूला क्रान्ति, आन्दोलन र सङ्घर्ष भएका छन् । ती सबै क्रान्ति, आन्दोलन र सङ्घर्षले लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका निम्ति ऐतिहासिक भूमिका निर्वाह गरेका छन् ।’
प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा हिजो (शनिबार) पूर्व राजा ज्ञानेन्द्र शाहले पनि शुभकामना सन्देश जारी गरेका थिए । शाहले मुलुक जोगाउनको लागि प्रजातन्त्रको लागि लडेका दल र राजसंस्थाबीच सहकार्य हुनुपर्ने प्रस्ताव राखेका थिए । शाहले राखेको प्रस्तावले यतिवेला राजनीति तातेको छ । मुलुक राष्ट्रपतिको निर्वाचनको सम्मुखमा छ । त्यसको लागि यही फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ ।
तर, प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको शुभकामना सन्देशमा बढि चर्चा हुन थालेको छ। विभिन्न दलका नेताहरुले पूर्वराजा शाहको विज्ञप्तीबारे टिकाटिप्पणी गर्न थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले समेत शाहको विज्ञप्तीबारे मुख खोलेका छन् । ओलीले ज्ञानेन्द्रसँग के को लागि सहकार्य गर्ने ? भन्दै प्रश्न गरेका थिए । उता, देव गुरुङले त सहकार्य नै नगर्ने जवाफ फर्काएका छन् । राजसंस्थाको एजेण्डा छाडेका कमल थापाले पनि पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्तीबारे मुख खोलेका छन् ।
राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनमा संकट पैदा भएको चर्चा छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिबारे एमालेसँग गरेको सहमतिविपरित राष्ट्रिय सहमतिको कुरा गर्न थालेपछि सहमति कार्यान्वयनमा संकट पैदा भएको एमाले नेताहरुको चर्चा छ । योगेश भट्टराई, विष्णु रिजाललगायतका नेताहरुले भने सार्वजनिक रुपमै प्रचण्डले सहमति पालना गर्नुपर्नेमा जोड दिन थालेका छन् । तर, माओवादी केन्द्रका नेताहरु भने राष्ट्रपतिबारे एमालेसँग कुनै सहमति नभएको जिकिर गर्न थालेका छन् ।
एमाले–माओवादी दुवै दलका नेताहरुको फरक फरक अभिव्यक्ति आउन थालेपछि सत्ता गठबन्धन राष्ट्रपतिको निर्वाचन अघि नै ढल्नसक्ने अनुमान हुन थालेको छ । प्रधानमन्त्री दाहालले २६ पुषमा संसद्मा विश्वासको मत लिने क्रममा कांग्रेसको पनि मत पाएपछि सत्ता गठबन्धनमा खट्पट् सुरु भएको हो । दाहाल विश्वासको मत माग्नको लागि आँफै कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका थिए । एमाले अध्यक्ष ओलीले भने जन्मकुण्डलीमा नै एमालेले राष्ट्रपति लिएर आएकोले आफ्नै पार्टीको उम्मेदवार राष्ट्रपति बन्ने भनेर आजपनि दाबी गरेका छन्। हालै ओली निवास बालकोटमा पुगेका प्रधानमन्त्री दाहालले पनि राष्ट्रपतिमा सहमति हुने र गठबन्धन नभत्किने दाबी गरेका छन् ।
राष्ट्रपतिको निर्वाचन केन्द्रित राजनीतिक भेटवार्ता भैरहेको र नेताहरुको सक्रियता बढिरहेको बेलामा अहिले पूर्व राजा ज्ञानेन्द्र शाहको पनि चर्चा चुलिएको छ । शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशलाई लिएर अहिले उनको चर्चा चोक चोकमा र चिया गफमा समेत हुन थालेको छ । हालै पूर्वराजा ज्ञानेन्द्र दुर्गा प्रसाईले आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा सरिक भएका थिए । झापामा आयोजित उक्त कार्यक्रममा सरिक भएपछि उनले दलहरुसँग देश जोगाउनको लागि सहकार्यको प्रस्ताव गरेका हुन् ।