Logo

वार्षिक परीक्षा आयो पुस्तक आएन



काठमाडौं, फागुन १७ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको वार्षिक परीक्षा सकिन लागे पनि उनीहरूले अझै पाठ्यपुस्तक पाएका छैनन्। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ। दुर्गम जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ, तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकिएको विद्यार्थीको गुनासो छ।

कालिकोटका धेरै विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका– ३ मा रहेको विद्याज्योति माध्यमिक विद्यालय कक्षा ८ को नेपाली र स्वास्थ्य विषयको पुस्तक पुगेको छैन। खाँडाचक्र नगरपालिका– ३ ताडीको जनजीवन माविमा पनि केही पुस्तक पुगेको छैन।

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी छात्रा आशा गिरीले पनि पाठ्यपुस्तकविना नै अध्ययन गर्नुपर्ने बाध्यता रहेको बताइन्। माध्यमिक तहमा अध्ययनरत छात्रा आशाले भनिन्, ‘न समयमा हामीले किताब पाउँछौं न त विद्यालयमा सिकाइ गतिविधिका लागि पर्याप्त सामग्री नै छन्।’ पाठ्यपुस्तक, भौतिक संरचना र शिक्षक अभावजस्ता कारणले आफूहरूको सिकाइ प्रभावकारी बन्न नसकेको उनले बताइन्।

खाँडाचक्र– ३ स्थित जनज्योति माध्यमिक विद्यालयमा पनि पाठ्यपुस्तक अझै नपाएको विद्यार्थीको गुनोसो छ। यस्तै शुभकालिका गाउँपालिका– ३ भर्तास्थित जनज्योति माध्यमिक विद्यालयमा पनि पुस्तक छैनन्। जिल्लाका सामुदायिक विद्यालयमा समयमै सबै विषयका पाठ्यपुस्तक नपुग्दा सिकाइ गतिविधि नै प्रभावित बनिरहेको छ। विद्यार्थीका अनुसार यो शैक्षिक सत्रमा पनि सबै पाठ्यपुस्तक हातमा परेन। कतिपय विषयका किताब नै नदेखेर परीक्षा दिनुपर्ने अवस्था रहेको छात्राहरू बताउँछन्। कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीले पुस्तक नपाउने समस्या बर्सेनि खेप्दै आएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot