Logo

पार्टीभित्र छलफल नै नगरी अध्यक्ष नेपाल रामचन्द्र पौडेलको प्रस्तावक बन्नुभयो– झलनाथ खनाल



काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति निर्वाचनका विषयमा पार्टीभित्र कुनै छलफल नभएको खुलासा गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रपति निर्वाचनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले एकलौटी निर्णय लादेको आरोप लगाएका हुन् । ‘हाम्रो पार्टीको अध्यक्ष पनि रामचन्द्र पौडेलको प्रस्तावक नै बसिसक्नु भएको रहेछ । यद्यपि पार्टीलाई त थाहापत्तो भएन । पार्टीमा कुनै पनि निर्णय भएको छैन । तर, उहाँ प्रस्तावक बसिसकेपछि उहाँ रामचन्द्र पौडेललाई बनाउन चाहनु हुदोरहेछ भन्ने कुरो छर्लङ्ग भयो,’– उनले भने ।

पार्टी अध्यक्ष नेपालका कारण आफ्नो राष्ट्रपति हुने सम्भावना तुहिएको उनको भनाइ छ । ‘अहिले पनि संसदमा वामपन्थीको १३६ सिट छ । यतिबेला राष्ट्रपतिमा सबभन्दा राम्रो सम्भावना एकीकृत समाजवादीको थियो । तर वामपन्थी नेताहरुको अदूरदर्शिता, अकर्मण्यता, पदलोलुपता र स्वार्थपरकताका कारण त्यो सम्भव भएन । उनीहरु कुनै पनि वामपन्थी नेतालाई राष्ट्रपति बनाउन चाहँदैनथे । केही दिनपछि त्यो पुष्टि हुन्छ,’– उनले भने ।

देश निर्माणको भिजन नभएपछि नेताहरु पद पाउने, गुट उपगुट खोल्ने र गठबन्धन बनाउने लुछाचुँडीमा लाग्ने पनि उनले औंल्याए । खनालले भने, ‘राष्ट्रपति हुन्छु भन्दै नेताहरू मुखमा र्‍याल काढेर ओर्लिए । यो बडा अनौठो छ । त्यसको अलिअलि लक्षण देखिसकेपछि म बंगलादेशतिर लागेको थिएँ । माधव नेपाल चाहेको भए कि उहाँ आफैं बन्नुहुन्थ्यो कि मलाई बनाउन लाग्नुहुन्थ्यो । उहाँ मलाई राष्ट्रपति बनाउन चाहनुहुन्थेन भन्ने घटनाक्रमले सिद्ध गरेर लगेको छ ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम अघि नसारेको पनि खनालको दाबी छ । उनले भने, ‘माधव नेपाल र खड्ग ओलीबीच चार घन्टा के के कुरा भयो, माधव नेपालले रिपोर्ट गर्नुभएको छैन । ओलीले पार्टी मिलाऊँ भन्नुभयो तर राष्ट्रपतिको प्रस्ताव आउँदै आएन भन्नुभयो माधव नेपालले । प्रस्ताव आएको थियो भने हाम्रो पार्टीसम्म किन आएन रु कि माधव नेपालबाट आउनुपर्थ्र्यो कि पार्टीमै आउनुपर्थ्र्यो । त्यस्तो प्रस्ताव आएको जस्तो लागेन । प्रोपगन्डा मात्र हुन पनि सक्छ । यसबारे केपी ओलीलाई सोध्न बाँकी छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot