Logo

सरकार ! के भयो २४ अर्ब रुपैयाँ ?



काठमाडौं, फागुन २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि मात्रै विकास निर्माण कार्यमा ठेकेदारले लगेको मोबिलाइजेसनबापतको २४ अर्ब रुपैयाँ डुब्न लागेको भन्दै सो रकम उठाउन सरकारलाई निर्देशन दिएको थियो तर अख्तियारको सो निर्देशनअनुसार सरकारी राज्यकोषबाट गएको सो रकम उठाउन सरकारी निकाय असफल देखिएको स्रोतले जानकारी दिएको छ ।

त्यतिबेला ठेकेदारको भ्रष्ट र कामचोर चरित्रका कारण २४ अर्ब रुपैयाँ नोक्सान हुन लागेको भन्दै अख्तियारले सो रकम उठाउन गम्भीर चासो पनि दिएको थियो तर त्यसयता भने अख्तियारले सो रकम उठे नउठेकोबारेमा खासै चासो नराख्दा सरकारी निकायलाई हाइसञ्चो भएको छ ।

सुरुका दिनमा अख्तियारले विभिन्न विकासे जिम्मेवारीमा रहेका मन्त्रालयलाई पत्र पठाउँदै मोबिलाइजेसनबापतको रकम उठाउन ताकेता पनि गरेको थियो । तर, सरकारी निकायले जिम्मेवारीपूर्वक ताकेता गर्न नसक्दा त्यति धेरै रकम फस्ने अवस्थामा पुगेको हो ।

अहिले पनि विभिन्न विकास र निर्माण कार्यमा ठेकेदारले मोबिलाइजेसनबापत भन्दै करोडांै रुपैयाँ सरकारी निकायसँग लगेका छन् । तर, त्यसरी लगेको रकमको कुनै लेखाजोखा र हरहिसाब राज्यका निकायसँग नहुँदा सो रकम करिब÷करिब डुब्ने अवस्थामा पुग्ने बताइन्छ ।

त्यतिखेर २४ अर्ब रकम लिएर ठेकेदार बेपत्ता भएका थिए । अहिले पनि कतिपय ठेकेदार बेपत्ता अवस्थामा नै छन् । त्यतिखेर उनीहरूले सम्झौताबमोजिम कुनै काम नै नगरे पनि सरकारी निकायलाई गुमराहमा राख्दै २४ अर्ब रुपैयाँ आफ्नै खल्तीमा राख्न सफल भएका थिए ।

२४ अर्ब रुपैयाँ डुब्ने अवस्थामा पुग्दा पनि विकास आयोजना सञ्चालन गर्ने तालुक निकाय भने कानमा तेल हालेर बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस विषयमा खासै ध्यान दिएको देखिँदैन । अख्तियारका अनुसार ठेक्का सम्झौता गर्दा पेस्कीस्वरूप ठेकेदारले २४ अर्ब रुपैयाँ लिएका हुन् ।

ठेकेदारबाट राखिएको धरौटीस्वरूपको ६ अर्ब रुपैयाँ जफत गर्न पनि सरकार असफल भएको थियो । ठेक्का सम्झौता रकमको कम्तीमा ५ प्रतिशतले हुन आउने कार्यसम्पादन जमानतबापतको ६ अर्ब धरौटी रकम असुल गर्न सरकारी पक्ष असफल देखिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot