Logo

विद्यालय भवन हस्तान्तरण



लमजुङ, २ चैत । समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी माध्यामिक विद्यालयलाई आफ्नो निजी खर्चमा निर्माण गरिएको भवन हस्तान्तरण गरेका छन् ।

आफ्ना बुबाआमाको स्मृतिमा रु ३० लाखको लागतमा निर्माण गरिएको दुईतले चारकोठे चूडामणि रुक्मिणा दवाडी स्मृति भवन तथा कम्प्युटर प्रयोगशाला भवन एक समारोहबीच उनीहरुले हस्तान्तरण गरेको हो ।

विसं २००६ मा भाषा पाठशालाका रुपमा स्थापना भएको सो विद्यालयले विसं २०३४ मा माध्यामिक विद्यालयको स्वीकृति पाएको थियो । हाल कक्षा १२ सम्म सञ्चालन रहेको यस विद्यालयमा करिब चार सय विद्यार्थी अध्ययनरत छन् ।

भवन हस्तान्तरण समारोहमा प्रदेशसभा सदस्य डा टकराज गुरुङले विद्यालयको शैक्षिकस्तर अभिवृद्धि एवं गाउँमा सडक स्तरोन्नति र केन्द्रीय प्रसारण लाइन विस्तारलगायतका विकास निर्माणमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद दवाडीको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले गाउँको शैक्षिक विकासमा योगदान दिनुहुने बुवाको स्मरणमा विद्यालय भवन निर्माण गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा पनि यस किसिमको सहयोग गर्दै जाने बताए ।

विद्यालयका प्रधानाध्यापक हरिनारायण दवाडीले विद्यालय स्थापनादेखि मावि सञ्चालन गर्नका लागि आवश्यक जग्गा उपलब्ध गराउने र स्वीकृति दिलाउन तत्कालीन प्रधानपञ्च एवं समाजसेवी चूडामणि दवाडीले सक्रिय नेतृत्व लिएको स्मरण गरे । सो अवसरमा राष्ट्रियस्तरका कलाकारद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

यसअघि सोही विद्यालयका शिक्षक स्व चेतोनाथ अधिकारीको स्मृतिमा उनको परिवारले रु छ लाखको लगानीमा विद्यालय हाताभित्र सरस्वतीको मन्दिर पनि निर्माण गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्