Logo

प्रधानमन्त्री तथा दलहरूले कस्तालाई बनाउलान् मन्त्री ?



काठमाडौं, चैत १७ । नेपाली राजनीतिमा नैतिकता स्खलित भइरहेको अवस्थामा दल तथा नेताहरू सच्चिएर सरकारमा मन्त्रीहरू पठाउदा नैतिकवान र इमान्दार व्यक्तिलाई अवसर दिन सक्लान् ?

राजनीतिक विश्लेषकहरू भन्छन्– ‘स्वार्थै स्वार्थले भरिएको गठबन्धनभित्र त्यस्ता नैतिकवान व्यक्तिले अवसर पाउने सम्भावना निकै कम छ ।’ तैपनि दलका नेताहरूले सच्चिएर असल व्यक्ति पठाउन सके निकै राम्रो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धन दलका नेताहरू अब सच्चिएर असल र देशका लागि चिन्तित रहने इमान्दार छविका व्यक्तिलाई मन्त्री बनाउनुपर्ने सुझाव विश्लेषकहरूले दिएका छन् ।

तर, पनि पछिल्ला दिनमा मन्त्री हुनेहरूको हल्ला चलेसँगै आएका नामहरू हेर्दा अधिकांश व्यक्तिहरू विवादास्पद छविका देखिएका छन् । विगतको अभ्यास हेर्दा केही अपवादबाहेक धेरै मन्त्रीहरूले कमाउधन्दामा नै लिप्त भएर राजनीतिक रूपमा नैतिकता गुमाएको बताइन्छ ।

राजनीतिक दल तथा तिनका प्रमुख नेताहरूले पनि आफ्नो दलबाट मन्त्री बनाउँदा विषयगत विज्ञता, क्षमता र कार्यकुशलताभन्दा आफ्नै आसेपासे र भक्तजनलाई बनाउने गरेको देखिन्छ । त्यसरी मन्त्री बन्ने व्यक्ति मुलुक र जनताको हितमा भन्दा पनि आफ्नै स्वार्थसमूहको हितमा समर्पित हुने गरी मन्त्री बनाउने गरिएको छ । अहिले पनि त्यस्तै प्रवृत्ति देखिएको र त्यस्तै व्यक्तिहरूलाई मन्त्री बनाउन लागिएको स्रोतको दाबी छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot