Logo

‘भगवानलाई धन्यवाद भन्नुपर्छ- जोशी जिउँदै फर्किए’



काठमाडौं । लेखक बीएन जोशीको संस्मरणात्मक पुस्तक ‘श्रमाटन’को अंग्रेजी संस्करण पाठकमाझ आएको छ । हालै राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्मा, साहित्यकार श्यामल, युयुत्सु शर्मा, आप्रवासी विज्ञ सरु जोशी श्रेष्ठ, अनुवादक अरुण बुढाथोकी र लेखक जोशीले संयुक्त रुपमा सार्वजनिक पुस्तक सार्वजनिक गरे ।
कार्यक्रममा कांग्रेस महामन्त्री शर्माले श्रमाटन वैदेशिक रोजगारीमा जाने युवाहरुको प्रतिनिधिमूलक पुस्तक भएको बताए । उनले भने, ‘वैदेशिक रोजगारीमा जानेको कथाव्यथा दुई दशकपछि पनि उस्तै छ । श्रमाटनमा पूर्वी एसियाली देश र खाडीको कथाव्यथा छ भने अहिले अफ्रिकादेखि युरोप अमेरिकासम्मको श्रमाटन चलिरहेकै छ । यो एउटा प्रतिनिधिमूलक कृति हो ।’
शर्माले अहिलेको परिवेशमा वैदेशिक रोजगारी मुलुकको आवश्यकता रहेको धारणा राखे । उनले थपे, ‘संसारमा कुनै यस्तो देश छैन जुन देशका नागरिक कामका लागि अन्य मुलुकमा जाँदैनन् । स्वदेशमा रोजगारीको ग्यारेन्टी नभएसम्म देशबाहिर रोजगारीको ढोका खोल्नु राज्यको दायित्व हो । विप्रेषणकै कारण देशले सास फेरिरहेको छ ।’
साहित्यकार श्यामलले निबन्ध र संस्मरण विधामा सत्य घटनामा आधारित यति सुन्दर र किताब कहिल्यै नपढेको बताए । उनले भने, ‘यस किताबको ठूलो शक्ति र सामर्थ्र्य भनेको लेखक बीएन जोशीले आफ्नो व्यक्तित्वलाई नक्कली जलप नलगाईकन इमानदारीपूर्वक प्रकट गर्नुभएको छ । संस्मरणमा धेरैजसो झुटको पुलिन्दा हुन्छन् । तर यो जीवन्त छ । यस्तो समसामयिक विषयमा लेखिएको श्रमाटन दुर्लभ ग्रन्थ हो ।’
राज्यले रोजगार सिर्जना नगरेर अवैध रुपमा युवाहरुलाई विदेश जान विवश बनाइरहेको विषयलाई पुस्तकले उजागर उनको टिप्पणी थियो । सांसद शर्मालाई इंगित गर्दै उनले भने, ‘युवाहरुले अझै पनि लुकीलुकी जोखिम मोलेर विभिन्न मुलुकमा गइरहनु परेको छ । संसदमा यो किताबको बारेमा अगाडि राखेर छलफल होस् ।’
सरु जोशी श्रेष्ठले लेखक बीएन जोशी यस पुस्तकमार्फत लाखौं श्रमिकहरुको नेता भएको बताइन् । उनले भनिन्, ‘श्रमाटन शब्द आफैंमा शक्तिशाली छ । अद्भुत छ । साउदी अरबको आप्रवासी अनुगमनका क्रममा ट्रलीमा लेखिएका शब्दहरु र पोतिएका नेपालका झन्डा देख्दा ती नेपाली श्रमिकहरु पो नेपालका असली राजदूत रहेछन् भन्ने लाग्यो ।’ उनले खाडीको यात्राले आफूलाई समेत लेखक बनाएको स्मरण गरिन् । सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि मतदानको अधिकार दिनुपर्ने उनको माग थियो ।
पुस्तकका सम्पादक तथा कवि युयुत्सु शर्माले यस्तो चल्तीको विषयगत साहित्यलाई नेपाल सरकारले समेत प्रोत्साहन गर्नुपर्ने धारणा राखे । उनले भने, ‘बेरोजगारी समस्या दक्षिण एसियामा मात्र नभएर सारा विश्वको समस्या हो । यस किताबभित्रका कथाहरु यति भयानक छन् कि कल्पना गर्न समेत मुश्किल पर्छ । भगवान्लाई धन्यवाद भन्नुपर्छ- जोशी जिउँदै फर्किए । सँगसँगै लाखौं श्रमिकहरुको कथा कृतिमार्फत आयो ।’
श्रमाटनका लेखक बीएन जोशीले पुस्तकको पृष्ठभूमि खोतल्दै २०-२५ वर्ष अगाडिका परिघटनाहरु स्मरण गरे । म आफैंलाई समेत अहिले आएर कल्पना जस्तो लाग्छ । तर ती सबै सत्य थिए । अब बिस्तारै यस कृति इतिहास बन्नेछ,’ जोशीले भने ।
गत महिना अन्तर्राष्ट्रिय पुस्तक मेला दिल्लीमा पहिलो पल्ट सार्वजनिक भएको पुस्तकको विमोचन कार्यक्रम सञ्चालन निबन्धकार एवं समालोचक कुमारी लामाले कार्यक्रम गरेकी थिइन् ।
निराला पब्लिकेशन्स भारतले अंग्रेजीमा ल्याएको उक्त पुस्तकमा नेपालीले वैदेशिक रोजगारीका क्रममा भोगेका दुःख हन्डर र जोखिमपूर्ण यात्राको फेहरिस्त छ । पुस्तक अमेजन, दराज लगायतका अनलाइन पोर्टलका माध्यमबाट समेत संसारभर खरिद गर्न सकिने प्रकाशकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot