Logo

‘ठेक्का तोड्नेभन्दा निर्माण कम्पनीलाई नै जिम्मेवार बनाइनेछ’



काठमाडौं, १२ बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माणमा ढिलाइ भएका योजनामा सकेसम्म ठेक्का तोड्नेभन्दा निर्माण कम्पनीलाई नै जिम्मेवार बनाएर काम सम्पन्न गराउन लागिने बताएका छन्।

आज मन्त्रालयमा आयोजना गरिएको पूर्वाधार क्षेत्रमा कार्यरत पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले ठेक्का तोड्ने मात्रै महत्त्वपूर्ण काम नभएको बताएका हुन्।

एउटा ठेक्का तोडिएपछि अर्काे ठेक्कामार्फत काम अघि बढाउन उत्तिकै झन्झटिलो हुँदा काम गरिरहेको कम्पनीमार्फत सम्पन्न गर्न लाग्नुपर्ने उनको भनाइ थियो। भारतीय लगानीका योजनामा समस्या आएको कुरा आएकाले त्यसबारे छलफल भएको मन्त्री ज्वालाले बताए। उनले भने, “सकेसम्म काम गराउने र नसके मात्रै तोडेर जान सकिन्छ ।”

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बुटवल–नारायणगढ र मुग्लिन–पोखरा सडकको अनुगमन गरेको र त्यहाँको अवस्थाबारे स्थलगतरूपमा बुझेको मन्त्री ज्वालाले बताए।

केही समय पहिले नेपालमा उत्पादन भएका सवारीसाधन दर्तामा समस्या रहेको समाचार मिडियामा आएकाले तत्काल समाधानका लागि पहल गरेको उनले बताए। उनले भने, “त्यसबारे थाहा पाएकै दिनमा यातायात विभागसँग छलफल शुरु गरेको थिएँ ।”

मन्त्रालयले देशभर रहेका सडकमध्ये कुनकुन कसको कार्य क्षेत्रमा पर्छन् भनी वर्गीकरण गर्न सुरु गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot