Logo

पूर्वमन्त्री रायमाझी प्रहरी नियन्त्रणमा, बाबु-छोरालाई काठमाडौं ल्याइँदै



काठमाडौं, वैशाख २१। पूर्वमन्त्री तथा (नेकपा एमाले)का सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले भैरहवाबाट नियन्त्रणमा लिएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा सहभागी  काठमाडौंका लागि हिँडेका रायमाझी बुधबार साँझदेखि सम्पर्कविहीन थिए ।

बुधबार दिनभर सभामुख देवराज धिमिरेसँगै प्रहरी सुरक्षामा रहेको उनी बेलुका भैरहवा विमानस्थलबाट काठमाडौं आउन जहाज टिकट काटेका रायमाझी अन्तिम समयमा टिकट रद्द गरेर सम्पर्कविहिन भएका थिए । बुटवलमा रहेको छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार पक्राउ गरेको खवर सार्वजनिक भएपछि उनको फोन स्विचअफ रहेको थियो ।

प्रहरी स्रोतका अनुसार बुधबार बेलुका भैरहवाकै एक होटलमा बास बसेको रायमाझीलाई अहिले उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । रायमाझीबाबु–छोरालाई भैरहवाबाट काठमाण्डौँ ल्याएर अनुसन्धान पूरा नहुँदासम्म हिरासतमा राख्ने अनुमतिका लागि प्रहरीले आजै अदालतमा उपस्थित गराउँदैछ ।

रायमाझी बाबु–छोरामाथी नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप छ । अनुसन्धानका क्रममा उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएपछि नियमन्त्रणमा उनलाई बुधवार नै प्रहरीले बुटवलबाट पक्राउ गरेको थियो । काठमाडौँ ल्याउन अहिले उनलाई भैरहवा विमानस्थल पुर्याइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन्।



प्रतिक्रिया दिनुहोस्