Logo

‘भ्रष्टाचारी प्रमाणित व्यक्तिहरु एमालेमा छैनन्’



काठमाडौं, २५ वैशाख । नेकपा एमालेका नेता एवं सांसद कर्ण थापाले आफ्नो पार्टीमा अदालतबाट भ्रष्टाचारी प्रमाणित नेता-कार्यकर्ता नभएको दाबी गरेका छन् ।
‘टोपबहादुरजीलाई जो जोे मान्छेले पैसा लियो भनेका छन्, चेक काटेर आफैंसँग राखेका छन् । यसो गर्ने हो भने त कोही पनि व्यक्ति अछुतो नरहने भो । आरोप लाग्दैमा त्यो प्रमाणित त हुँदैन नि । हल्ला र प्रचार मात्र गरेर भएन नि । यहाँ विधिको शासन छ । अध्ययन, अनुसन्धान र फैसला गर्ने अलगअलग निकाय छन् । एमाले कहिले पनि भ्रष्टाचारीको संरक्षणमा लाग्दैन । अदालतबाट भ्रष्टाचारी प्रमाणित व्यक्ति हाम्रो पार्टीमा छैनन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
एमाले नेता थापाले क्यान्टोनमेन्टको अर्बौं घोटाला पनि छानबिनमा आउनुपर्ने उनले औंल्याए । उनले भने, ‘अहिले नक्कली शरणार्थीको कुरा आयो । बाबुराम, प्रचण्ड, माधव नेपाल, वर्षमान पुनमाथि पनि मुद्दा छन् नि । क्यान्टोनमेन्टमा अर्बौंको घोटालाका मुद्दा छ । कुनै पनि काण्डलाई बाँकी नराखीकन यो पार्टी त्यो पार्टी, यो शक्ति त्यो शक्ति, यो व्यक्ति, त्यो व्यक्ति भनीकन कारबाही गर्नुपर्छ । कोही दोषी नउम्कियोस् वा निर्दोष पनि नपरोस् ।’ प्रक्रियामा गइसकेपछि कसैलाई पनि छाड्नु नहुने उनले बताए ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रघाती विधेयक भनेर प्रमाणीकरण नगरेको नागरिकता विधेयक फेरि अघि बढाउन खोज्नु आपत्तिजनक हुने पनि थापाको टिप्पणी छ । उनले भने, ‘तत्कालीन राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगर्ने अडान राख्नुभएको थियो । त्यसको जनताले प्रशंसा गरेका थिए । एमाले सरकार भएन भने मात्र त्यो काम गर्न सकिन्छ भनेर अरुको निर्देशनमा यो सत्ता गठबन्धन बनेको हो । यसले त्यो काम गर्यो भने आश्चर्य नमाने हुन्छ । यो सरकार राष्ट्र र जनताको पक्षमा काम गर्न बनेकै होइन ।’
नेकपा एमाले सरकार ढाल्ने खेलमा नलागेको पनि उनले बताए । थापाले थपे, ‘१० तिर फर्केका दलहरुबीच कुन दिन के स्वार्थ मिल्दैन, अनि आआफ्नो बाटो लाग्छन् । यो सरकारलाई एमालेले ढाल्नु पर्दैन, आफैं ढल्छ । कहिलेसम्म ढल्छ, प्रचण्ड र देउवालाई नै थाहा होला ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot