Logo

तथ्य र प्रमाण भेटिए आरजु र खाँडलाई पनि छाड्ने कुरा आउँदैन : माओवादी नेता



काठमाडौं, २५ वैशाख । नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले नक्कली भुटानी शरणार्थीको अनुसन्धान फासफुस नहुने बताएका छन् ।
‘हामीकहाँ कुनै पनि अनुसन्धानलाई आवश्यकताभन्दा बढी हल्ला गर्ने र विषयान्तर गर्ने प्रवृत्ति छ । होलसेलमा गर्यो भने भद्रगोल हुन्छ । एउटा काण्डको छानबिन हुँदा हजार विषय हालिदिने हो भने कुनै पनि विषय टुंगोमा लाग्न सक्दैन । हामी रुख भेट्दैनौं, जंगलमा मात्र देख्छौं । नक्कली भुटानी शरणार्थी प्रकरण देखावटी र फासफुस गर्न अनुसन्धान होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नेता पौडेलले तथ्य र प्रमाण पुगेपछि जो सुकै व्यक्ति छानबिनको दायरामा आउने पनि दाबी गरे । उनले भने, ‘अहिले नै उहाँहरु (आरजु देउवा, बालकृष्ण खाँड) लाई मैले दोषी भन्न मिल्दैन । तर तथ्य भेटिए छाड्ने कुरा कुरा पनि आउँदैन । त्यसरी छाडिए दलहरुप्रतिको विश्वसनीयतामै प्रश्न उठ्छ । हामीले जनतालाई सुशासन प्रत्याभूति कायम गर्न सक्दैनौं । त्यसैले जुनसुकै पक्षको भए पनि तथ्य, सत्य र प्रमाणका आधारमा छानबिन हुन्छ । सरकार त्यसै अनुसार अगाडि बढ्छ ।’
उनले आजको संवैधानिक परिषदको बैठकबाट प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढ्ने पनि बताए । साथै उनले लाखौं नागरिकलाई नागरिकता विधेयक अघि बढाएर नागरिकता पाउने बाटो खोल्नुपर्ने पनि औंल्याए । माओवादी नेता पौडेलले भने, ‘हामीले विदेशीलाई नागरिकता दिन लागेको होइन । बाबुआमा नेपाली छन् भने तिनका छोराछोरीलाई नागरिकता दिनु पर्दैन र ? हामी राष्ट्रपतिलाई विवादित बनाउन चाहँदैनौं । संविधानविद्सँग सल्लाह गरेर सम्भव भएसम्म पहिलेकै प्रक्रियाबाट टुंगो लगाउन चाहन्छौं । नागरिकताजस्तो संवेदनशील विषयलाई विभिन्न बहानामा अल्झाउन मिल्दैन, बार्गेनिङको विषय बनाउन पाइँदैन ।’ नीति र कार्यक्रम तथा बजेटपछि सरकार आफ्नो लयमा अघि बढ्ने दाबी पनि उनले गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot