Logo

गगन थापा र विश्वप्रकाश शर्माले पार्टी फुटाउने कुरा नसोचे पनि हुन्छ : सहमहामन्त्री परियार



काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन ढिसमिस हुने आशंका व्यक्त गरेका छन् ।
‘विगतमा संसदीय समितिले दोषी देखाएकामाथि सही ढंगले कारबाही भएनन् । त्यसैले नक्कली भुटानी शरणार्थी प्रकरण  पनि ढिसमिस हुने आशंका बढेका छन् । अहिले हामी पनि सरकारमा सहभागी छौं । दल हेरेर व्यक्तिका बारेमा छानबिन हुन सक्दैन । अमूक व्यक्तिमाथिको छानबिनले पार्टी सकिँदैन । व्यक्ति जोसुकै दलको होस्, कानुनी दायरामा ल्याउनै पर्छ । दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै परियारले भने ।
अर्को प्रसंगमा उनले पार्टी विधानसम्मत चलोस् भनेर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापतिलाई ध्यानाकर्षण गराएको बताए । परियारले थपे, ‘महामन्त्रीहरुले पार्टी पदाधिकारी बैठकमा केही कुरा राख्नुभएको साँचो हो । पार्टीभित्र जुन ढंगको छलफल हुनुपथ्र्यो, त्यो हुन नसकेको र पार्टी पदाधिकारीसँग छलफल गर्ने परिपाटीमा कमी आएको हो कि भन्ने कुरा स्वाभाविक हो । त्यो पार्टीभित्र दबाब सिर्जना गर्ने शैली पनि हो । पार्टीभित्र छलफल, वाद-विवाद र सहमति-असहमति त भैहाल्छ नि ।’
महामन्त्रीद्वय पार्टी फुटाएर प्रधानमन्त्री बन्न लागेको सूचना आफूसँग नभएको पनि परियारले बताए । उनले भने, ‘उहाँहरु पार्टीको महामन्त्रीजस्तो गौरवमय पदमा पुग्नुभएको छ । पार्टीमा कसैले कमजोरी गरेको छ भने कोही व्यक्ति बाहिरिने वा राजीनामा दिने कुरा होला । तर पार्टी फुटाउने कुरा नसोचे पनि हुन्छ ।’
पार्टीका नौ जना सांसद मन्त्री भएकामा आफ्नो समूहको आपत्ति नभएको पनि उनले बताए । परियारले थपे, ‘मन्त्रीको नाम र संख्याका बारेमा हामीले दबाब दिएका अवश्य हौं । तर एकैचोटि कति जनालाई मन्त्री बनाउने ? अर्को पटक अर्को व्यक्तिको कुरा होला । नौ जना माननीय मन्त्री हुनुभएको छ । यसमा अन्यथा लिने कारण छैन ।’ परियारले सांसद अमरेशकुमार सिंहको अर्धनग्न प्रस्तुतिले आम जनमानसमा राम्रो सन्देश नगएको टिप्पणी गरे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot