Logo

प्रहरी प्रवक्तालाई धमलाको प्रश्न– नक्कली शरणार्थी प्रकरणमा को–कोलाई तान्नुभो, कतिलाई उम्काउनुभो ?



काठमाडौं, ८ जेठ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आजै सरकारी वकिलको कार्यालयमा बुझाउने बताएका छन् ।
‘हामीले हिजो नै बुझाउने तयारी गरे पनि केही काम बाँकी रह्यो । आज फस्ट आवरमा सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी छ । अफिस खोलेको केही समयमै प्रतिवेदन गइहाल्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरी कसैलाई जोगाउन वा कसैलाई फसाउन नलागेको पनि कडायतले बताए । उनले थपे, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कतिपय व्यक्तिलाई नियन्त्रणमा लिएका छौं, कतिपय फरार छन् । तर सबैलाई एकै किसिमले ट्रिट गर्ने हो । पहिलो कुरा त यथेष्ट प्रमाणबिना पक्राउ पुर्जी नै जारी हुन्न । व्यक्तिको संलग्नता र भूमिकाका आधारमा कसलाई कुन मुद्दा चलाउने भनी मागदाबी गरेका छौं । दोषी सबै अनुसन्धानको दायरामा आउँछन् ।’
यस प्रकरणका दोषीलाई राज्यद्रोह, ठगी, संगठित अपराध, अख्तियारको पुरुपयोग, सम्पत्ति शुद्धीकरण आदि मुद्दा आकर्षित हुने पनि कडायतले औंल्याए । उनले भने, ‘कसैले बयानमा बोल्न पनि सक्छ, नबोल्न पनि सक्छ । तर हाम्रो काम प्रमाण जुटाउने हो । उनीहरुका विरुद्ध राज्यद्रोह, ठगी, संगठित अपराध, अख्तियारको पुरुपयोग, सम्पत्ति शुद्धीकरण आदि आकर्षित हुन सक्छ । सबैलाई एउटै मुद्दाभन्दा छुट्टाछुट्टै मुद्दा लाग्न सक्छ । तर अहिले अनुसन्धान जारी नै रहेकाले मैले धेरै कुरा खुलाउने अवस्था छैन ।’
सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि पनि अनुसन्धान नरोकिने प्रहरी प्रवक्ता कडायतले बताए । उनले भने, ‘हालसम्म १६ जना नियन्त्रणमा छन्, अरु थुप्रै फरार छन् । हामीले अनुसन्धानका लागि ६० दिन कानुनले तोकेको छ । सरकारी वकिललाई प्रतिवेदन बुझाएपछि पनि अनुसन्धान रोकिँदैन । हामी यो वा ऊ व्यक्ति भन्दा पनि किटानी उजुरीका आधारमा प्रमाण जुटाउने काममा लाग्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot