Logo

‘महेन्द्र आदर्श विद्यालयलाई पार्टीको कब्जाबाट मुक्त गरियोस्’



काठमाडौं, ९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य रोशन कार्कीले ललितपुरको महेन्द्र आर्दश विद्यालय पार्टीको कब्जामा रहेको भन्दै संसद्मार्फत शिक्षामन्त्रीको ध्यानाकार्षण गराएकी छन् ।

आज (मंगलबार) को प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले पार्टीका कब्जामा रहेको उक्त विद्यालय पार्टीका कार्यकर्ता भर्तीकेन्द्र बनेको भन्दै सरकारको ध्यानाकार्षण गराएकी हुन् ।

‘ललितपुर जिल्लाको १५ नम्बर वडा, ३ नम्बर क्षेत्रमा महेन्द्र आदर्श विद्यालय छ । त्यो विद्यालयको करिब २०, २१ रोपनी जग्गा छ । त्यो जग्गामध्येबाट सेल्सबेरी डिपार्टमेन्ट सप खडा गरिएको छ । त्यो विद्यालय एउटा पार्टीको कब्जामा छ, सभामुख महोदय । त्यो विद्यालयलाई पार्टीको भर्तीकेन्द्र बनाइएको छ । प्रिन्सिपल पनि आफ्नै मान्छे राखिएको छ,’– उनले भनिन् ।

उक्त पार्टीले विद्यालयको जग्गा पनि कब्जा गर्ने तयारीमा रहेको उनको आरोप छ । उनले महेन्द्र आदर्श विद्यालयलाई तत्काल पार्टीको कब्जाबाट मुक्त गराउन माग गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot