Logo

नेपालीहरुले सन्तानको नाम ‘रामचन्द्र’ राख्न पनि सोच्नुपर्ने बेला आयो : स्वागत नेपाल



काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा अस्वीकृत भएको उक्त नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपति पौडेलको चौतर्फी आलोचना सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको पूर्व सन्ध्यामा राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुलाई विशेष रुपमासमेत हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलको उक्त कदमलाई लिएर नागरिकता अध्ययन कार्यदलले घोर आपत्ति जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै नागरिकता ध्ययन कार्यदलले प्रधानमन्त्री र राष्ट्रपति पौडेलको उक्त कदमविरुद्ध सर्वोच्चको ढोका ढक्ढक्याउने चेतावनी दिएका छन् । साथै, उनीहरुले नागरिकता विधेयकको विरुद्ध कडा आन्दोलन छेड्ने चेतावनीसमेत दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधानविद् एवं अधिवक्ता स्वागत नेपालले राष्ट्रपति पौडेलले ‘राम नाम’ कै बदनाम गरेको टिप्पणी गरे । नेपालीले अब जन्मने सन्तानको नाम रामचन्द्र राख्दासमेत सोच्नुपर्ने बेला आएको उनको भनाई छ । ‘मान्छे मर्दा वियोगमा सम्झने राम राम कस्तो मर्न नसकेको मान्छेका नाम पर्न गएछ रामचन्द्र ? यो भन्दा अर्को नाम अब नेपालीहरुले कसरी आफ्नो सन्तानको नाम रामचन्द्र राख्न सक्छन् होला ? इराक युद्धपछि ९८ प्रतिशत दम्पत्तिले आफ्ना सन्तानको नाम सदाम हुसेन राखेका थिए रे । अमेरिकासँग लड्नसक्ने तागत भएको,’– उनले भने ।

नेपालमा शासन गर्नेहरुले पारिजात, तेन्जिङ शेर्पा, गोपाल भुटानीलाई नागरिकता दिनुपर्छ भन्ने कहिल्यै नसोचेको र अहिले स्वार्थ र सत्ता टिकाउने खेलमा नागरिकता विधेयक प्रमाणीकरण गरेको उनको आरोप छ । ‘नागरिकता दिनपर्ने छ रे, पाएका छैनन् रे नारिकता । यो देशमा परिजातको कृति अहिले विदेशका विश्वविद्यालयमा पढाइन्छ । पारिजातले नागरिकता पाएको भए बाहिर गएर उचार गरेर बाँच्न सक्नुहुन्थ्यो । नागरिकता नपाएकै कारणले उपचार गर्न नपाएर मर्नुभयो । तेन्जिङ शर्पा प्रथम सगरमाथा आरोपी मर्नेबेला भारतीय नागरिक भएर मर्नु पर्यो । गोपाल भुटानी नागरिकता नपाए मर्नुपर्यो । तिम्रा आँखाले देखेन यो ?’– उनले प्रश्न गरे ।

नेपालमा राज्यले नागरिकता प्रदान नगरेर चक्लेट वितरण गरेजस्तो नागरिकता वितरण गरेको उनको आरोप छ । सरकारले गाउँ गाउँमा टोली पठाएर सोधेर नागरिकता दिएको उनले बताए । नेपालको नागरिकता कागजको खोस्टो बाहेक केही होइन भन्ने सन्देश दिन खोजिएको उनको भनाई छ । नेपाललाई अहिलेसम्म सिक्किमीकरण बनाउने धेरै प्रयत्न भएको उनले बताए । अहिलेको यो प्रयत्न पनि सफल नहुने उनले बताए । उनले डा। सुरेन्द्र भण्डारीले सर्वोच्चमा लिएर जान लागेको रिट निवेदनमा सामेल हुन अनुरोध गरे । देश दुर्घटनातर्फ जान लागेको उनको भनाई छ । अधिवक्ता र कानुनको विद्यार्थी भएको नाताले आफूले यस विषयलाई गम्भीर रुपमा लिएको उनले बताए ।

उनले नागरिकता विधेयकलाई भूतको संज्ञा दिएका छन् । यसले विनाशको अवस्था सिर्जना गर्न लागेको उनको दाबी छ । अहिले तराईको केही अस्पतालहरुमा बच्चा जन्माउन विदेशी महिलाहरु आउन थालेको उनको दाबी छ । नेपालमा जन्मिएकै आधारमा नागरिकता लिनका लागि उनीहरु प्रशुतिका लागि नेपाल आउने गरेको उनले खुलासा गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot