Logo

स्वदेशी र विदेशी लगानीकर्तालाई अब कुनै झन्झट छैन : अर्थमन्त्री



काठमाडौं, १८ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सफल हुने ठोकुवा गरेका छन् ।
‘यो उच्चस्तरीय सद्भावना भ्रमण हो । यस क्रममा धेरै कुरामा समझदारी हुन्छन् । यसले परस्पर विश्वास र सहयोगको सम्बन्ध विस्तार हुन्छ । प्रधानमन्त्रीको भारत भ्रमण सफल नहुने कुरै छैन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
यस भ्रमणले नेपालमा भारतीय लगानीको अभिवृद्धि हुने पनि उनले बताए । डा. महतले भने, ‘अरुण तेस्रोमा भारतीय लगानीमा काम भइरहेको छ । अब तल्लो अरुणका काम हुँदैछ । यसले थप लगानीको आधार सिर्जना गर्छ । भारत सरकारको मात्र नभएर हामी निजी क्षेत्रका संस्थासँग पनि अन्तर्क्रिया गरेर लगानीका निम्ति आह्वान गर्दैछौं ।’
आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि, पर्यटन, जलविद्युत् र उद्योग व्यवसायमा लगानीका लागि निकै उदार नीति लिइएको पनि डा. महतले बताए । उनले भने, ‘नेपालमा स्वदेशी तथा विदेशी लगानीका निम्ति सहज परिस्थिति निर्माण भइरहेको छ । अब लगानीकर्ताले कुनै झन्झट आउँदैन । सानोतिनो समस्या आयो भने पनि तत्काल समाधान हुन्छ ।’
साथै उनले सांसदलाई पाँच करोड दिएको नभई निर्वाचन क्षेत्रका लागि छुट्याएको पनि बताए । अर्थमन्त्री महतले भने, ‘यो सांसद विकास कोष होइन, संसदीय निर्वाचन क्षेत्र विकास कार्यक्रम हो । यसमा सांसदले सिफारिस मात्र गर्ने हो । सांसदले सिफारिस पनि गर्न नपाउने ? कार्यक्रमको कार्यान्वयन सम्बन्धित मन्त्रालयले गर्छ । यो सांसदले लिने रकम होइन । यो गलत प्रचारबाजी हो । विषयान्तर गरिएको मात्र हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot