Logo

रामचन्द्र पौडेल राष्ट्रवादी भनेको उहाँ त राष्ट्रघाती हुनुहुँदो रहेछः महेश बस्नेत



काठमाडौं, २७ जेठ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रघाती काम गरेको टिप्पणी गरेका छन्  । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सत्ता स्वार्थका लागि गिरेर काम गरेको आरोप लगाएका हुन् ।

‘रामचन्द्र पौडेलजी राष्ट्रवादी नेता भनेको उहाँ राष्ट्रघाती नेता हुनुहुँदो रहेछ । उहाँलाई महाअभियोग लगाउन पर्छ भन्ने सम्मका छलफल भए । प्रचण्डज्यूको सत्ता स्वार्थका लागि राष्ट्रपति किन यत्ति तल ओर्लेर नागरिकता विधेयक प्रमाणीकरण गर्नुभयो भन्ने कुरामा हामी अक्कनबक्क परेका छौं,’– उनले भने ।

संसद्ले निर्णय गरेर पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण भएमा त्यसलाई पुनः संसद्को विषय बनाउन पर्ने उनको भनाई छ । नेपाली नागरिकले नागरिकता पाउनु पर्छ भन्नेमा आफूहरु प्रष्ट रहेको र त्यसमा कुने दुईमत नरहेको उनले बताए । विधेयक अंगिकृत नागरिकताको विषयमा नखुलेको उनको दाबी छ । सिन्दुरसँग नागरिकता साट्न नसकिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्