Logo

समाजसेवी पशुपति गुरुङद्धारा अक्षयकोषका लागि १५ लाख हस्तान्तरण



काठमाडौं, २९ जेठ । वरिष्ठ समाजसेवी तथा संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले १५ लाखको अक्षयकोष प्रदान गरेकी छिन् ।

आफ्नी स्वर्गिय आमा चिसकुमारी गुरुङको नाममा संस्कार समाज नेपाल मार्फत ५ लाखको अक्षयकोष स्थापना गरेकी गुरुङले गत वर्ष आफूले माध्यमिक शिक्षा लिएको विद्यालय श्री मेश्रम बराह मा.वि., घान्द्रुकलाई आफ्ना पितृहरुको नाममा ५ लाख अक्षयकोष प्रदान गर्नु गरेकी थिइन भने आइतबार आफ्नी ममतामयी सासूआमा शिरकुमारी गुरुङको नाममा आफ्ना श्रीमान् बुद्धिप्रसाद गुरुङले अध्ययन गरेको माछापुच्छ्रे गाउँपालिका घलेलगाउँमा रहेको विद्यालय श्री बम बहादुर आधारभूत स्कूललाई अक्षयकोषका लागि रु. ५ लाख प्रदान गरेकी हुन ।

संस्कार समाज नेपाल मार्फत देशव्यापी सचेतना अभियान सञ्चालन गरिरहेकी गुरुङले निरन्तर रुपमा समाजसेवामा योगदान गरिरहेकी छिन् । दुई दशकभन्दा बढी समय प्रवासमा विताउनु भएकी गुरुङले प्रवासमा आफूले सिकेका संस्कारलाई नेपालमा लागू गर्ने उद्देश्यले ६ वर्षअघिदेखि सञ्चालन गरेको कार्यक्रमलाई हालै सरकारले अनुमोदन गरेको छ । मुख्य अभियन्ता गुरुङको परिकल्पनामा अहिले सरकारले सार्वजनिक यातायातमा अडियो सामग्री तथा सरसफाईलाई अनिवार्य गर्ने निर्णय गरेको छ । यसका लागि संस्कार समाज नेपालले आफ्नै लगानीमा सार्वजनिक सवारीका लागि सचेतना अडियो पेन ड्राइभ १५०० प्रति तथा डष्टविनहरु वितरण गरेको थियो ।

लामो संघर्ष पश्चात आफ्नो मागहरुलाई सरकारद्धारा सम्वोधन गरिएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष गुरुङले भनिन ‘व्यवस्था भन्ने कुरा कसैले चाहदैमा, तुरुन्त आउने कुरा होइन, सबै सम्भव छ तर, समय लाग्छ । सबैभन्दा पहिले हामी प्रत्येक नागरिकले आफ्नो दायित्वबोध गर्नु पर्छ, राज्यप्रतिको दायित्व सबै नागरिकले वोध गर्ने हो भने समाज र राष्ट्र बन्न समय लाग्दैन ।’ संस्कार समाज नेपालबाट ‘स्कूल स्कूलमा असल संस्कार’ र ‘हरेक महिनाको एक गते एक घण्टा एक सय मिटरको दुरीमा देशव्यापी सरसफाई महाअभियान’ सञ्चालन भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot