Logo

निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो



काठमाडौं, असार ९ । “खाना खायो कि पेट डुम्म हुने, वाकवाक हुने भएको छ, ठुलै रोग पो लागे हो कि चिन्ताले महिनौँ दिन भइसक्यो निदाउन सकेको छैन । डर मात्रै लाग्छ, के भएर हो डाक्टरसाब भन्निदिनुहोस् न,” यो भनाइ रोजगारीको सिलसिलामा कतारमा रहेका युवाले वीर अस्पतालको टेलिमेडिसिन सेवा लिनका लागि आएको फोन हो । सरकारले गएको चैत १५ देखि कार्यालय समयमा यसै गरी फोनमा टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा दिर्दै आएको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा वीर अस्पतालमा सञ्चालित चिकित्सक परामर्श युनिटले विभिन्न ५२र५३ देशमा कार्यरत ६६९ नेपाली श्रमिकलाई स्वास्थ्य परामर्श सेवा प्रदान गरेको जनाएको छ । जसमा ६५ जनाले विशेषज्ञ चिकित्सा सेवा लिएको सो स्वास्थ्य युनिटका मेडिकल अधिकृत डा। सञ्जय धरेलले जानकारी दिए। उनले विशेषज्ञ सेवा लिनेमध्ये अधिकांश सामान्य रोगका कारण पनि ठूलै रोग लाग्यो कि भन्ने आशङ्काले मनोरोगी हुने धेरै भएको पनि जानकारी दिए ।

टेलिमेडिसिन सेवाका लागि एक युवाको फोन रेकर्ड सुनाउँदै डा. धरेलले भने, “रोग ग्यास्टिकको हुन्छ तर ठुलो रोग लागेको आशङ्का गरेर मानसिक रोगी भएको पाइयो । उहाँलाई मनोचिकित्सकमार्फत परामर्शपछि सामान्य ग्यास्टिकको औषधीले निको भएको छ ।” बोर्डले गत चैत १५ देखि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्टाउने उद्देश्यले देशको केन्द्रीय अस्पताल वीरमार्फत निःशुल्क टेलिमेडिसिन सेवा दिर्दै आएको छ । वीर अस्पतालमा सुरु गरेको स्वास्थ्य युनिटका मेडिकल अधिकृत डा. सञ्जय धरेलले विदेशबाट टेलिमेडिसिन सेवा लिनेमध्ये सबैभन्दा धेरै कब्जियत, पेट दुख्ने र खान मन नहुने, छालाको समस्या रहेको जानकारी दिए ।

उनका अनुसार यीबाहेक ढाड दुख्ने, हातखुट्टा सुनिने, मुटुको धड्कन बढ्ने र मनोरोगसम्बन्धी रहेका छन् । टेलिमेडिसिनमार्फत सेवा लिने श्रमिकले सुनाएका लक्षणका आधारमा सम्बन्धित विशेषज्ञ चिकित्सकले हेरेर चिकित्सकको ‘प्रेस्व्रिmप्सन’ अनलाइनमार्फत उपलब्ध गराउने गराउँदै आएको डा. धरेलले जानकारी दिए । उनले टेलिमेडिसिन सेवामा सेवा लिनेको ठुलो सङ्ख्या खाडी र मलेसिया भए पनि पछिल्लो पटक अस्टे«लिया, जापान, बेलायत, युरोपका विभिन्न देशमा रहेकाले पनि टेलिमेडिसिन सेवामार्फत आफूलाई भएको स्वास्थ्य परामर्श सेवा लिँदै आएका छन् ।

डा। धरेलले वैदेशिक रोजगारीमा रहेका श्रमिकले भनेका समस्या टेलिमेडिसिनका मेडिकल अधिकृतले सुनेर बिरामी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा हरेक आइतबार र शुक्रबार उपलब्ध गराउँदै आएको जानकारी दिए । आइतबार र शुक्रबार विदेशी मुलुकमा सार्वजनिक बिदा पर्ने हुँदा ती दिनमा श्रमिकसँग समय हुने भएकाले सेवा उपलब्ध गराउन लागिएको बोर्डका निर्देशक एवं सूचना अधिकारी राजन पौडेलले बताए।

सामान्य स्वास्थ्य समस्याबारेमा उपचार गराउने व्यवस्था नहुँदा वैदेशिक रोजगारमा गएका कैयौँ श्रमिकको उतै मृत्यु हुने गरेको केही भए पनि राहत होस् भनेर उक्त सेवा सुरु गरेको जानकारी दिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेसँगै सेवा दिँदै आएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot