Logo

शान्ति शर्माका कवितामाथि परिचर्चा



भक्तपुर, ८ असार । रिर्डर्स हब क्याफे, कौशलटारमा शुक्रबार साँझ बेग्लै माहोल देखियो । दिउँसो २ बज्दा नबज्दै क्याफे सञ्चालक अनुप आचार्यले हलको ढोकामा दुई बजेदेखि हल बुकिङ भएकाले नियमित ग्राहकहरूसँग क्षमा माग्दै एउटा सूचना टाँसे ।
सन्दर्भ थियो, कवि शान्ति शर्माको एक वर्षअघि प्रकाशन भएको कवितासंग्रह ‘सपनाको समाधि’माथि पुस्तक परिचर्चा कार्यक्रम । दियालो साहित्य सरगमको आयोजनामा भएको कार्यक्रममा देशका प्रतिष्ठित कवि, कलाकार, साहित्यकार, पत्रकार र कानुनविद्हरुको विशिष्ट जमघट थियो । संस्थाकी अध्यक्ष समेत रहेकी कवि शान्तिले सबै अतिथिलाई गुलाबको गुच्छाले भव्य स्वागत गरिन् ।
कार्यक्रम सञ्चालनको जिम्मेवारी लिए डा. सनतकुमार वस्तीले । मदन पुरस्कार विजेता महेशविक्रम शाह र रेडियोकर्मी डा. नवराज लम्सालबाट सुरु भएको बोल्ने क्रम वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ हुँदै टेलिभिजनकर्मी टीकाराम यात्रीसम्म पुग्दा सेलाउने मौकै पाएन । देशकै चर्चित र स्थापित मानिएका व्यक्तित्वहरूले बोल्ने क्रममा पुस्तकमाथि मात्र होइन, टिप्पणीमाथि टिप्पणी हुन्थ्यो । समालोचनामाथि पनि समालोचना हुँदै गर्दा उपस्थित सबै कान ठाडा पारेर सुन्थे । तीन घण्टासम्म बहस चल्दा पूरा अवधिभर एउटा सियो खसेको पनि चाल पाउने माहोल बनिरह्यो ।

कार्यक्रममा कवि दिनेश अधिकारी, प्रा.डा. रामप्रसाद ज्ञवाली, लक्ष्मी रुम्बा, महेश पौडेल, जीवा लामिछाने, डा. भीमार्जुन आचार्य, विप्लव प्रतीक, घनेन्द्र ओझा, राजकुमार बानियाँ, प्रह्लाद पोख्रेल, विश्वविमोहन श्रेष्ठ, प्रा. जगतप्रसाद उपाध्याय, प्रा.डा. हेमनाथ पौडेल, लक्ष्मण गाम्नागे, लगायतका व्यक्तित्वहरूले कवि शान्तिको कृतित्व र व्यक्तित्वमाथि चर्चा, परिचर्चा गर्दै काव्यिक यात्राका निम्ति बधाई, शुभकामना र शुभेच्छा दिए ।
सबैजसो वक्ताले शान्तिका कवितामा सहज संवेद्य कविता लेखेको बताए । अन्तस्करणको भाव प्रस्फुटनमा कवि सफल रहेको उनीहरुले बताए । कार्यक्रममा सर्जक शान्ति शर्मा, तुलसीहरि कोइराला, राजबाबु श्रेष्ठ सागर, सुवासचन्द्र ढुङ्गेल, राजेश खनाल, बाबु त्रिपाठी, प्रज्ज्वल अधिकारी, रत्नविरही घिमिरे, शिवराम खड्का, गणेशप्रसाद खतिवडा, भगवती बस्नेत, अतीतबाबु रिजाल, मनिषराज खरेल, उदयन रेग्मी, महेश कार्की क्षितिज, रमेशचन्द्र गौतम, प्रतिष्ठा भण्डारी, राधा कँडेल लगायतले पनि आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रमलाई चुस्त बनाउनका लागि आसन ग्रहण, खादारमाला, सम्बोधन लगायतका औपचारिकता पूरा गर्न गरिने कुनै पनि अनुत्पादक क्रियाकलापहरू राखिएको थिएन । यसअघि कवि शान्ति शर्माका ‘अम्लान फूल’ र ‘बार्दलीमा जून’ प्रकाशित छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot