Logo

कम्युनिष्टहरुले सके एउटै पार्टी, नसके मोर्चा बनाउन पर्छः एमाले उपाध्यक्ष ज्ञवाली



काठमाडौं, १५ असार । पुष्पलाल अध्ययन केन्द्रले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा जन्म शताब्दी समारोह समिति घोषणा गरेको छ । पुष्पलाल श्रेष्ठ ९९औं वर्ष पुरा गरी एक सय वर्षमा प्रवेश अवसरमा आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा अन्तरक्रिया कार्यक्रम गरी आगामी एक वर्षभित्र गर्ने कार्यक्रमको घोषणा गरेको हो । पुष्पलाल वि.सं. १९८१ आसार १५ गते रामेछापमा जन्मिएका थिए । पुष्पलालको जन्म जयन्तीको अवसरमा विभिन्न कम्युनिष्ट नेताहरुले उनको तस्विरमा पुष्प अर्पण गरेका थिए ।

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालका कम्युनिष्टभित्र एकपक्षीय दृष्टिकोण रहेको बताए । उनले यसलाई गैरमाक्र्सवादी दृष्टिकोणको संज्ञा दिए । गल्ती नगर्ने र गल्ती नसच्याउने मान्छे मान्छे नै नहुने उनको भनाई छ ।

उनले पुष्पलालको दृष्टिकोणले ६५ प्रतिशत जनमत कम्युनिष्टहरुको पक्षमा रहेको बताए । गणतन्त्र आउनु, राजा हट्नु, संविधान बन्नु पुष्पलालकै योगदानको उपलब्धी भएको बताए । अहिलेको व्यवस्था माओवादीले बन्दुक पड्काएरमात्रै नआएको उनको भनाई छ । कम्युनिष्ट आन्दोलनले नेपालको राजनीतिमा धेरै परिवर्तन ल्याएपनि गर्न धेरै बाँकी रहेको उनको भनाई छ ।

‘हिजो राजाको शासन थियो, आज जनताको शासन छ । जनताले ल्याएको व्यवस्था हो यो, के माओवादीले बन्दुक पड्काउँदैमा आएको हो र ? लाखौंलाख जनता संलग्न भए । माओवादीको युद्धमा पनि हजारौं संलग्न भए, संयुक्त जनआन्दोलनमा पनि लाखौंलाख संलग्न भए । जनताले लडेर ल्याएको, हजारौं हजार जनताको बलिदानले ल्याएको उपलब्धी हो । तर, गर्न अझैं धेरै बाँकी छ,’– उनले भने ।

पुष्पलालले जनवाद, समाजवाद, साम्यावादसम्मको परिकल्पना भएको उनले बताए । कम्युनिष्ट आन्दोलन अगाडि बढाउनका लागि सहयोग गर्ने जो कोहीलाई पनि आफूहरु सहयोग गर्न तयार रहेको उनको भनाई छ । उनले आरोप प्रत्यारोपको राजनीति छोड्न आवश्यक रहेको बताए ।

पुष्पलालले जहिले पनि संयुक्त मोर्चाको नीति र संयुक्त जनआन्दोलनको नीति अगाडि सारको स्मरण गर्दै उनले कम्युनिष्टहरु एक ठाउँमा जोडिन आवश्यक रहेको बताए । ‘कम्युनिष्टहरु एक ठाउँमा हुनुपर्छ । सके एउटै पार्टी बनाउन पर्छ, नभए मोर्चा बनाउन पर्छ । नभए कुनै न कुनै मुद्दाका आधारमा हामी जहिले पनि सकारात्मक हुने प्रयास गर्नपर्छ । नजिक हुने प्रयास गर्नुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot