Logo

म कुनै गुटको होइन, कांग्रेसको नेता हुँ : सांसद केसी



काठमाडौं, १६ असार । नेपाली कांग्रेसका नेता एवं सांसद राजेन्द्रकुमार केसीले सरकारले भ्रष्टाचारीविरुघ गरेको कारबाहीको खुलेर प्रशंसा गरेका छन् ।
‘नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा सरकारको एक्सन स्वागतयोग्य छ । समाजमा भ्रष्टाचार गर्नुहुँदैन है भन्ने सन्देश गएको छ । जसको हातमा पावर छ, उसले भ्रष्टाचार गरेको छ । भ्रष्टहरुले सुनचाँदी र पैसा मात्र होइन, घर जग्गा घुस नै खाने रहेछन् । ललिता निवासमा १३ अर्ब खाए । अब तल्लो स्तरको कर्मचारी मात्र होइन, टप टु बटम कारबाही गर्न सरकारलाई मेरो शुभकामना छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
तपाईंले भ्रष्टाचारविरोधी अभियानको प्रशंसा गरिरहँदा भ्रष्टाचारमा मुछिएका नेताहरुलाई कारबाही गर्न त सक्नुभएन नि भन्ने प्रश्नमा केसीले भने, ‘हो, लामो समयदेखि पार्टीको केन्द्रीय समिति बैठक बसेको छैन । पार्टी सभापतिले सिंगापुरबाट फर्केपछि बैठक राख्छु भन्नुभएको थियो । अब राख्नुहोला । त्यहाँ कुरा उठ्ला ।’
तपाईं त शेरबहादुर देउवाको निकट नेता हो नि भन्ने अर्को प्रश्नमा केसीले थपे, ‘व्यक्तिगत रुपमा मेरो शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला आदि सबै नेताहरुसँग राम्रो सम्बन्ध छ । तर म गुटमा विश्वास गर्दिनँ । म गुटको होइन, कांग्रेसको नेता हुँ । कसैसँग पनि निकट र विकट छैन ।’
सांसद केसीले विभिन्न कमीकमजोरी कारण कांग्रेस चुकेको पनि बताए । उनले भने, ‘कांग्रेसमा कमीकमजोरी नभएको भए लोकतन्त्रका लागि आठ दशकभन्दा बढी संघर्ष गरेको पार्टीको यो अवस्था हुन्छ त ? देशलाई नेतृत्व गर्ने सवालमा आज कांग्रेस चुकेको छ । कमजोर भएको छ । अब जनता केन्द्रित कार्यक्रम ल्याउनु आवश्यक छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot