Logo

प्रचण्डलगायतका नेतालाई बास्कोटाको प्रस्तावः ‘नेकपा व्युँताउने हो भने जबज स्वीकार गरेर एमालेमा आउनुस्’ (भिडियोसहित)



काठमाडौं, १८ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बास्कोटाले नेपाल कम्युनिष्ट पार्टी ब्यूँत्याउन असम्भव रहेको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेकपा व्युँत्याउने कुरा सुन्दाखेरि धेरै सुन्दर भएपनि शिखरमा पुगेको कम्युनिष्ट पार्टी बेसक्याम्पमा आईपुग्ने गरी पछारिनुको पछाडिका कारण खोज्न आवश्यक रहेको बताए ।

‘त्यो सुन्दाखेरी धेरै सुन्दर कुरा छ । तर, प्रश्न जीवित छ, यदि यही आवश्यकता थियो भने सगरमाथाको टुप्पोमा पुगेको कम्युनिष्ट पार्टीको झण्डा व्यक्ति, नेतृत्व, व्यक्तित्व, विचार, संगठनको त्यो भीमकाय पहाडको टुप्पोबाट एकैचोटी फस्ट बेसक्याम्पमा पछारिएको जस्तो पछारिनका निम्ति के ले बाध्य बनायो,’– उनले भने ।

अहिले समाजवादी मोर्चा बनाएकाहरुले जनताको बहुदलीय जनवादलाई स्वीकार गरेर एमालेमा आउन आवश्यक रहेको उनको भनाई छ । बास्कोटाले एमालेविचार, सिद्धान्त, उद्देश्य र दृष्टिकोणका हिसाबले कम्युनिष्ट पार्टीको मूल धार भएको दाबी गरे ।

‘उहाँहरु सबैले जनताको बहुदलीय जनवाद मान्नुपर्यो, नेकपा (एमाले) मा आउनु पर्यो, यो नै नेपाली कम्युनिष्ट आन्दोलनको मूल धार हो । विचारका हिसाबले, सिद्धान्तको हिसाबले, दृष्टिकोणका हिसाबले, उद्देश्यका हिसाबले, राष्ट्रिय र अन्तराष्ट्रिय हैसियत र सामथ्र्यका हिसाबले, जनताको समर्थनको हिसाबले र उत्तारचढाव होइन, निरन्तरता, लघ्ताभाष होइन, आत्मविश्वास, राष्ट्रघात होइन, देशभक्तिपूर्ण प्रगतिशील राष्ट्रवादको रक्षा, गञ्जागोल होइन, स्ष्पट समाजवाद निर्माणको मार्गभिच, जुनसुकै वर्ग पक्षधरता सत्ताको निम्ति होइन, श्रमिक वर्गको पक्षधरताका आधारमा र जस्तोस्ुकै समाज निर्माण होइन, न्यायपूर्ण समाज निर्माणको इमानदार प्रयत्न गरेर आउनु हु्न्छ भने सच्चिनलाई ठाउँ छ । तर, उहाँले चाहेरमात्रै यो कुरा पुरा हुन सक्दैन,’– उनले भने ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बनाएको समाजवादी मोर्चामा सबै कम्युनिष्ट पार्टी नरहेको उनको दाबी छ । वाम शक्तिलाई एउटै पार्टी बनाउने कुरा चाहनालेमात्रै नभएर प्रचण्ड ब्यवहारमा पनि सच्चिन आवश्यक रहेको उनले बताए । एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा विभाजन हुनुमा प्रधानमनत्री प्रचण्ड सबैभन्दा बढी दोषी रहेकोतर्फ लक्षित गर्दै उनले प्रचण्डले आफूसँग सत्ता सहकार्य गर्नेहरु सबैलाई कम्युनिष्ट देख्ने चस्मा लगाएको टिप्पणी गरे ।

‘उहाँले कम्युनिष्ट पार्टी नै बनाउनु भएको छ र ! जब मोर्चा बनाउनु भयो, मोर्चा कम्युनिष्ट पार्टी हो र ? त्यहाँ उपेन्द्र यादवजीको पनि पार्टी छ, उहाँहरु कम्युनिष्ट हो र ?
चाहना त मेरो पनि प्रधानमन्त्री नै बन्ने छ । मेरो चाहनाले भयो र ? उहाँलाई समर्थन गर्ने जो कोहीलाई कम्युनिष्ट देख्ने उहाँले चस्मा लगाउनु भएको छ भने त्यो चस्माले हेर्दा त भन्न सम्भव होला । तर, वर्ग पक्षधरताको हिसाबले, कम्युनिष्ट पार्टीको लक्ष्य, उद्देश्य र धेयको हिसाबले हेर्ने हो भने त्यो अलि दूरको कुरा छ । अलि टाढाको कुरा छ, किनभने भएको एकता मासेको किन ? खरानी बनाएर त्यसमा चाहिँ दुबो उर्मान खोजेर हिँडेको, सिरु उम्रेको ठाउँमा उहाँले अहिले तत्कालै कुन दुबो उमार्नु हुन्छ ?’– उनले प्रश्न गरे ।

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट पार्टीका नाममा जनतामाथि धेरै धोखाघडी गरेको र अब नेपाली जनतामाथि धोखाघडी गर्दिन भनेर सच्चिन आवश्यक रहेको उनले बताए । प्रचण्डले आफ्नै पार्टीसमेत जोगाउन नसकेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot