Logo

एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं, असार २१ । नेपाली कांग्रेसले एक वर्षपछि केन्द्रीय समिति बैठक आह्वान गरेको छ । सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि शुरू हुने गरी केन्द्रीय समिति बैठक अह्वान गरेका हुन्।

देउवा निवास धुम्बाराहीमा बुधबार बसेको सभापति, उपसभापति र महामन्त्रीहरूको बैठकमा केन्द्रीय समिति बैठक आह्वान गर्ने समझदारी भएको हो । गत वर्षको साउनपछि अहिले असार २७ मा कांग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

कांग्रेसले केन्द्रीय समिति ठूलो भएकाले भनेको समयमा बैठकहरू बस्न नसके पनि महत्वपूर्ण निर्णयहरूको कार्यसम्पादन पदाधिकारी र कार्यसम्पादन समितिको बैठकबाट गर्दै आएको कांग्रेसका सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

कांग्रेसले गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक राखेको थियो । विधानअनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ । केन्द्रीय समिति ठूलो भएको र तत्कालै बैठक बस्न सम्भव नहुने भन्दै कांग्रेसले महत्वपूर्ण निर्णयहरू पदाधिकारी र कार्यसम्पादन समितिमार्फत गर्दै आएको छ ।

कांग्रेसले गत मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समीक्षासमेत गरेको छैन । केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय समिति बैठक बोलाउन केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्रसमेत दर्ता गराए पनि सभापति देउवाले सुनुवाई गरेका थिएनन ।

महामन्त्री गगनकुमार थापालगायत युवा नेताहरूले कांग्रेसलाई सुधार गर्नुपर्ने आवाज बुलन्द बनाए पनि नेतृत्वले नसुन्ने गरेको भन्दै आपत्ति जनाउँदै आएका थिए । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्