Logo

राससमा प्रेस युनियनको नयाँ कार्यसमिति गठन



काठमाडौं, ३० असार । नेपाल प्रेस युनियन राष्ट्रिय समाचार समिति (रासस) प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति निवर्तमान उपाध्यक्ष पूर्णप्रसाद मिश्रको अध्यक्षतामा गठन गरिएको छ।

शाखाको उपाध्यक्षमा चेतबहादुर (सिवी) अधिकारी, महिला उपाध्यक्षमा रोशा बस्‍नेत, सचिवमा कमल कुमार बस्‍नेत, सहसचिवमा उमा शर्मा र कोषाध्यक्षमा सृजना राई निर्विरोध निर्वाचित भएका छन्।

यस्तै सदस्यहरूमा मैना थापा, मुना कार्की, लक्ष्मी सापकोटा, उदीप यादव र किरणराज बिष्ट चयन भएको केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिए।

शाखाको अधिवेशनका लागि युनियनका नेता तथा बरिष्ठ पत्रकार इन्द्र रिजाललाई युनियनले केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको थियो।

यसअघि साधारण सभाको उद्घाटन सत्रमा कांग्रेसका युवा नेता तथा सांसद प्रदीप पौडैलले नेपालको लोकतन्त्र र श्रमजीवी पत्रकारको पक्षमा प्रेस युनियनले खेलेको भूमिकाप्रति आफूलाई गौरव लाग्ने गरेको बताए। उनले राससलाई थप विस्तारित र परिस्कृति गर्नुपर्नेमा पनि जोड दिए।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल र महासचिव दिलिप पौडेलले साना तथा स्वरोजगारमूलक मिडियालाई राससको सेवा निःशुल्क उपलब्ध गराउन गृहकार्य गर्न माग गरे।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले भने तत्काल सेवा निःशुल्क गराउन सकिने सम्भावना नरहेको तर्क गर्दै त्यसका बारेमा छलफल गर्न भने आफू तयार रहेको स्पष्ट पारे।

प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले रासस मिडियाको पनि मिडिया भएकाले मिडियाको मानक र गुणस्तर स्थापित गर्ने जिम्मेवारी पनि लिनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, युनियनका पूर्व केन्द्रीय अध्यक्षद्धय रमेश तुफान, कुलचन्द्र वाग्लेलगायतले पनि शुभकामना मन्तव्य दिएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot